काठमाडौँ- प्रतिनिधि सभा सदस्य क्रान्तिशिखा धितालले शिक्षाको गुणस्तर केवल भौतिक उपस्थितिका आधारमा मापन गर्न नहुने बताएकी छन्।
सोमबार बसेको संसद बैठकमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्रत्येक सेमेस्टरमा विद्यार्थीले ८० प्रतिशत हाजिरी अनिवार्य पुर्याउनुपर्ने व्यवस्थामाथि प्रश्न उठाउँदै यसले विद्यार्थीको वास्तविक ज्ञान र क्षमताको सही मूल्यांकन गर्न नसक्ने धारणा राखिन्।
उनले अहिले विश्व खुला ज्ञान, डिजिटल सिकाइ र प्रविधिमैत्री शिक्षातर्फ अघि बढिसकेको अवस्थामा नेपाल भने अझै परम्परागत सोचमै सीमित रहेको टिप्पणी गरिन्।
विद्यार्थीले कक्षामा कति समय बितायो भन्नेभन्दा उसले कति सिक्यो भन्ने कुरा महत्वपूर्ण हो, उनले भनिन्,यदि विद्यार्थी कक्षामा बसेर पनि प्रभावकारी रूपमा सिकिरहेको छैन भने शतप्रतिशत उपस्थिति पनि अर्थहीन हुन्छ।
सांसद धितालले अन्तर्राष्ट्रिय अभ्यासमा शिक्षामा लचकता, वैकल्पिक सिकाइ प्रणाली र प्रविधिको उपयोगलाई प्राथमिकता दिइएको उल्लेख गर्दै केवल नियमको नक्कल गरेर शिक्षा प्रणाली आधुनिक नहुने बताइन्।
उनका अनुसार आधुनिक शिक्षा प्रणालीका लागि सोच, पद्धति र मूल्यांकन प्रणालीमा पनि परिवर्तन आवश्यक छ। उनले शिक्षा क्षेत्रका नियमहरू विद्यार्थीलाई सक्षम, सिर्जनशील र प्रतिस्पर्धी बनाउन केन्द्रित हुनुपर्ने उल्लेख गर्दै अनावश्यक कठोरता विद्यार्थीमाथिको दबाब बन्न नहुने धारणा राखिन्।
सरकार र विश्वविद्यालय प्रशासनलाई सम्बोधन गर्दै उनले उपस्थितिको कडा गणनाभन्दा माथि उठेर गुणस्तरीय शिक्षा, सीप विकास, सिर्जनशीलता र वास्तविक सिकाइलाई केन्द्रमा राख्ने नीति अवलम्बन गर्न आग्रह गरिन्।