काठमाडाैँ - स्पेनले औपचारिक रूपमा इजरायलबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ। यस निर्णयसँगै दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ चिसिएको संकेत देखिएको छ।
बुधबार प्रकाशित स्पेनको आधिकारिक राजपत्रमा उक्त निर्णयबारे जानकारी दिइएको हो। यसअघि सरकारले स्वीकृत गरेको निर्णयअनुसार अब तेल अविवस्थित स्पेनको दूतावास ‘चार्ज द’अफेयर’को नेतृत्वमा सञ्चालन हुनेछ।
गत सेप्टेम्बरमा दुवै देशबीच तनाव बढेपछि म्याड्रिडले आफ्नो राजदूत फिर्ता बोलाएको थियो। गाजामा इजरायलले गरेको आक्रमणको आलोचना गर्दै स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले केही कडा कदम चाल्ने घोषणा गरेका थिए।
यसपछि इजरायलका विदेशमन्त्रीले स्पेनको उक्त कदमको आलोचना गरेका थिए, जसका कारण दुई देशबीचको विवाद थप चर्किएको हो। पछिल्लो समय स्पेनले अमेरिकी फाइटर जेटहरूलाई आफ्नो सैन्य बेस प्रयोग गर्न नदिने निर्णय पनि गरेको छ।

यस निर्णयले अमेरिका र स्पेनबीच पनि तनाव बढाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असन्तुष्टि जनाउँदै स्पेनसँग आर्थिक सम्बन्ध तोड्ने चेतावनी दिएका छन्।
यसैबीच, इरानमा विद्यालयमाथि भएको मिसाइल आक्रमणको इटालीले कडा निन्दा गरेको छ। इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले इरानको मीनाब सहरमा रहेको एक प्राथमिक विद्यालयमाथि गरिएको मिसाइल आक्रमणको कडा शब्दमा विरोध जनाएकी छन्। उक्त आक्रमणमा कम्तीमा १७० जनाको मृत्यु भएको बताइएको छ, जसमा अधिकांश ७ देखि १२ वर्ष उमेरका छात्रा रहेका छन्।
इटालीको सिनेटमा सम्बोधन गर्दै प्रधानमन्त्री मेलोनीले मीनाबको विद्यालयमा भएका बालिकामाथिको नरसंहारको कडा शब्दमा निन्दा गर्दै घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई छिट्टै कानुनी कठघरामा ल्याउनुपर्ने माग गरिन्।