इटहरी - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुनसरी जिल्लाबाट ४३ जना विद्यार्थीले उत्कृष्ट चार जिपिए प्राप्त गरेका छन्। जिल्ला शिक्षा तथा समन्वय एकाइ सुनसरीले सार्वजनिक गरेको विवरणअनुसार चार जिपिए ल्याउनेमध्ये ६ जना सामुदायिक विद्यालयका तथा ३७ जना संस्थागत विद्यालयका विद्यार्थी रहेका छन्।
सामुदायिक विद्यालयतर्फ इटहरी–२० स्थित जनसहयोग माध्यमिक विद्यालयकी यूनिका नेपाल, जनता माध्यमिक विद्यालय इटहरीकी आकृति दंगाल र आरजु रेग्मी, सरस्वती माध्यमिक विद्यालय इटहरीकी निमिक्षा आचार्य तथा राष्ट्रिय माध्यमिक विद्यालयका अवगेल याख्खा र अलिसा दाहालले चार जिपिए हासिल गरेका हुन्।संस्थागत विद्यालयतर्फ इनरुवास्थित सरस्वती ज्ञानकुञ्जबाट सबैभन्दा बढी नौ जना विद्यार्थीले चार जिपिए ल्याएका छन् ।
यस वर्ष सुनसरीका १०३ विद्यालयको नतिजा शतप्रतिशत आएको छ । तीमध्ये पाँच वटा सामुदायिक, धार्मिक तथा विशेष विद्यालय र बाँकी ९८ वटा संस्थागत विद्यालय रहेका छन्। शतप्रतिशत नतिजा ल्याउने सामुदायिक विद्यालयमा इटहरी–१६ को सरस्वती जब्दी माध्यमिक विद्यालय, गुरुकुलतर्फ बराहक्षेत्र–१ स्थित राधाकृष्ण संस्कृत विद्यालय, विशेष विद्यालयतर्फ पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय धरान तथा मदरसातर्फ श्री इस्लामी पब्लिक स्कुल हरिनगर रहेका छन्।
यता जिल्लाका चार विद्यालयको नतिजा भने शून्य रहेको छ । सामुदायिकतर्फ पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालय धरान, श्री माध्यमिक विद्यालय देवानगञ्ज र शिवनगर माध्यमिक विद्यालय रामधुनी–२ को नतिजा शून्य आएको छ। संस्थागततर्फ धरानस्थित माउन्ट मोरियो बोर्डिङ स्कुलको नतिजा पनि शून्य रहेको छ।
नतिजाअनुसार साधारण धारतर्फ १ हजार ६५६ जना विद्यार्थीले जिपिए ३.६० देखि ४.०० सम्म प्राप्त गरेका छन् भने प्राविधिक धारतर्फ ४४ जनाले सोही स्तरको नतिजा ल्याएका छन्।
त्यस्तै, साधारण धारतर्फ ३ हजार ९५ जना विद्यार्थीले जिपिए ३.२० देखि ३.६० सम्म प्राप्त गर्दा प्राविधिक धारतर्फ १०५ जना सो समूहमा परेका छन्।
साधारणतर्फ जिपिए २.८० देखि ३.२० सम्म ल्याउने विद्यार्थीको संख्या २ हजार ९८७ रहेको छ भने प्राविधिक धारतर्फ ८६ जना रहेका छन्। जिपिए २.४० देखि २.८० सम्म प्राप्त गर्ने विद्यार्थी साधारणतर्फ १ हजार ४४५ र प्राविधिकतर्फ २६ जना छन्।
सबैभन्दा कम जिपिए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या साधारणतर्फ १३१ र प्राविधिकतर्फ एक जना रहेको छ।
यस वर्ष सुनसरीबाट कुल १३ हजार ४२ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । तीमध्ये साधारणतर्फ ३ हजार २८९ र प्राविधिकतर्फ १३४ जना विद्यार्थीले ‘एनजी’ प्राप्त गरेका छन्।