काठमाडौँ- काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का लागि सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
महानगरको छात्रवृत्ति परीक्षा समितिले न्यूनतम ४० अंक प्राप्त गरेका विद्यार्थीहरूको प्रारम्भिक योग्यताक्रमसहितको नतिजा सार्वजनिक गरेको हो। यो छात्रवृत्ति महानगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालय तथा कलेजहरूमा शैक्षिक सत्र २०८३/०८४ मा अध्ययन गर्न प्रदान गरिनेछ।
विद्यार्थीहरूले अनलाइन आवेदन भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड प्रयोग गरी स्कोर कार्ड हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको छ।
शिक्षा अधिकारी तथा परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार प्रकाशित नतिजा प्रारम्भिक भएकाले चित्त नबुझेका परीक्षार्थीले जेठ २० गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन्। पुनर्योगपछि अन्तिम योग्यताक्रम सूची प्रकाशित गरिने र त्यसपछि मात्र शिक्षण संस्था छनोट तथा विद्यार्थी मनोनयन सिफारिस प्रक्रिया अघि बढाइनेछ।
परीक्षामा एक जना विद्यार्थीले सर्वाधिक ९२ अंक प्राप्त गरेका छन् भने अर्को एक विद्यार्थीले ९१ अंक हासिल गरेका छन्। तेस्रो स्थानमा पाँच जना विद्यार्थीले समान ९० अंक प्राप्त गरेका छन्।
प्रकाशित नतिजामा त्रुटि भएको महसुस भएमा एक हजार रुपैयाँ राजस्व तिरेर प्रवेशपत्रको प्रतिलिपिसहित शिक्षा विभागमा पुनर्योगका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको छ। साथै, आवेदन फाराममा नाम, लिङ्ग वा आरक्षणसम्बन्धी विवरण सच्याउन आवश्यक परेमा प्रमाणित कागजातसहित जेठ २० गतेभित्र निवेदन दिन सकिनेछ।
महानगरपालिकाले छात्रवृत्तिका लागि गत वैशाख ३ गते सूचना प्रकाशित गरेको थियो। छात्रवृत्ति छनोट परीक्षा ८३ वटा परीक्षा केन्द्रमा सञ्चालन गरिएको थियो।
परीक्षाका लागि २६ हजार ८८८ जना विद्यार्थीले आवेदन दिएका थिए, जसमध्ये २६ हजार ६०३ जनाको आवेदन स्वीकृत भएको थियो। स्वीकृत आवेदकमध्ये २२ हजार २० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।