काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा अनुमोदन गरी औपचारिक रूपमा प्रकाशन गरेको हो।
बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी रहेका थिए।
नतिजाअनुसार नियमिततर्फ सहभागी ३ लाख ३२ हजार २४१ परीक्षार्थीमध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन्। नियमिततर्फ उत्तीर्ण दर ६९.७५ प्रतिशत रहेको छ।
यस वर्ष ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको बोर्डले जनाएको छ। त्यसैगरी ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २४९ जना, २.४१ देखि २.८० जीपीए ल्याउने ५० हजार ५९७ जना, २.०१ देखि २.४० जीपीए ल्याउने ४ हजार ३०८ जना तथा १.६१ देखि २.०० जीपीए ल्याउने ९ जना रहेका छन्।
बोर्डका अनुसार यस वर्ष कुल उत्तीर्ण दर ६४.१३ प्रतिशत रहेको छ। नियमिततर्फ ६९.७५ प्रतिशत र आंशिकतर्फ ४२.३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको नतिजा पोर्टल, बोर्डको वेबसाइट तथा नेपाल टेलिकमको नतिजा सेवामार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। साथै एसएमएस, आईभीआर र यूएसएसडी सेवाबाट समेत नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ।
नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले प्रतिविषय एक हजार रुपैयाँ शुल्क तिरेर असार ६ गते बिहान ११ बजेदेखि असार १२ गते साँझ ५ बजेसम्म पुनर्योग (रिटोटलिङ) का लागि अनलाइन आवेदन दिन सक्नेछन्।
सरकारले परीक्षा सम्पन्न भएको ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको भए पनि बोर्डले निर्धारित समयभन्दा अगावै नतिजा प्रकाशन गरेको छ। यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पनि परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरिएको थियो।
