काठमाडौँ- परीक्षा सकिएको महिना दिनमै कक्षा १२ को नतिजा सार्वजनिक भएको भनेर खुसियाली मनाएको शिक्षा तथा खेलकुद मन्त्रालयले अनपेक्षित टीकाटिप्पणीको सामना गर्नु परेको छ। राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा शुक्रवार सार्वजनिक गरेको थियो। नतिजा गत वर्षको भन्दा आठ प्रतिशत बढि विद्यार्थी उत्तिर्ण हुन सफल भएका छन्। परीक्षा गत वैशाख २७ गते सकिएको थियो। तर हतारमा नतिजा सार्वजनिक गर्दा त्रुटि बढेको, उत्तरपुस्तिका परीक्षणमा लापर्बाही भएको,नतिजामा चित्त नबुझेका विद्यार्थीलाई पुनर्योग गर्दा लाग्ने शुल्क बढाएकोलगायतका टिप्पणी सामाजिक सञ्जालबाट आएको थियो।
गुनासो तथा टिप्पणी आएपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस विषयमा स्पष्ट पारेका छन्। कक्षा १२ को नतिजा छिटो प्रकाशित गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डले विगतमा अपनाइँदै आएका सबै प्रव्रिmया अपनाएको र कर्मचारीबाट कुनै कमजोरी नभएको मन्त्री पोखरेलको दाबी छ।
विगतमा उत्तरपुस्तिका परीक्षणपश्चात् सम्परीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउने व्यवस्था गरिएको थियो । यस वर्ष भने सम्परीक्षणको काम सम्बन्धित स्थानमै गर्न सकिने व्यवस्था मिलाइएकाले काठमाडौँ ल्याउनुपर्ने बाध्यता हटाइएको पनि मन्त्री पोखरेलले बताए। उत्तरपुस्तिका अनावश्यक रूपमा लामो समयसम्म रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गर्दै परीक्षण प्रव्रिmया समयमै सुरु गरिएको बताउँदै मन्त्री पोखरेलले कसैलाई हतार हतारमा परीक्षण गर्न नलगाइएको पनि स्पष्ट पारे।
साथै यस पटक उत्तरपुस्तिका परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतभन्दा बढी जनशक्ति परिचालन गरिएको पनि मन्त्री पोखरेलको भनाइ छ। धेरै जनशक्ति परिचालन गरेर अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन नदिइएको मन्त्री पोखरेलले बताए। सामाजिक सञ्जालमा पुरानो नतिजामा पुनर्योगको शुल्क वृद्धि गरिएको भन्ने गुनासो आएपछि मन्त्री पोखरेलले यो निर्णय वर्तमान सरकारले नगरेको स्पष्ट पारेका छन्।
उनले भनेका छन्, ‘पुनर्योगको शुल्क वृद्धि गत वर्षको पूरक परीक्षादेखि नै लागु भएको हो र यस सम्बन्धमा वर्तमान सरकारले कुनै नयाँ निर्णय गरेको छैन।’ ‘यस वर्ष नतिजा ‘असामान्य रूपमा छिटो’ आएकोभन्दा पनि विगतमा नतिजा अनावश्यक रूपमा ढिलो आउने गरेको अवस्था सुधारिएको हो। हामीले नतिजा प्रकाशित हुनुपर्ने उचित समयमै प्रकाशित गरेका मात्र हौँ, ’ उनले बताए।
‘उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति बढाइएको छ, सम्परीक्षणका लागि काठमाडौँ ल्याउनुपर्ने बाध्यता हटाइएको छ, उत्तरपुस्तिका लामो समयसम्म रोकिराख्ने अभ्यास अन्त्य गरिएको छ र परीक्षण प्रक्रिया समयमै सुरु गरिएको छ,’मन्त्री पोखरेलले भने।