काठमाडौँ- प्रारम्भिक बाल विकास (ईसीडी) शिक्षा र शिक्षकका विषयमा सरोकारवालाको चासो तथा दबाब बढिरहेका बेला प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति ईसीडीसम्बन्धी विषयमा दीर्घकालीन र प्रभावकारी नीतिगत निर्णय गर्ने तयारीमा जुटेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गरिरहेको छ। मन्त्रालयबाट विधेयक प्रतिनिधिसभाको शिक्षा समितिमा आएपछि त्यसमा विस्तृत छलफल हुने र सोही क्रममा ईसीडी शिक्षा तथा शिक्षकसँग सम्बन्धित विषयलाई समेत प्राथमिकताका साथ अघि बढाइने समिति सभापति डा. ओजस्वी शेरचननिकट स्रोतले जनाएको छ।
एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन)को आयोजनामा काठमाडौँमा भएको ‘सिम्पोजियम अन अर्ली ग्रेड एजुकेसन एन्ड पोलिसी फ्रेमवर्क’ कार्यक्रममा सभापति शेरचनले शिक्षा नीति छोटो अवधिका लागि नभई दीर्घकालीन सोचका आधारमा निर्माण गर्नुपर्ने बताएकी थिइन्।
उनले शिक्षा नीति निर्माण र कार्यान्वयन गर्दा एक–दुई वर्षलाई मात्र हेरेर नभई आगामी १०, १५ वा २० वर्षसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने गरी स्पष्ट दृष्टिकोण बनाउनुपर्नेमा जोड दिएकी थिइन्। उनका अनुसार शिक्षा क्षेत्रका नीतिगत निर्णयमा दीर्घकालीन सोच र दूरदृष्टि अपरिहार्य छ।
बाल विकासको क्षेत्रमा लामो समयदेखि काम गरिरहेका शिक्षक तथा अभियन्ताले आफ्नो पहिचान, भूमिका र भविष्यबारे चासो राख्नु स्वाभाविक भएको सभापति शेरचनको भनाइ थियो। उनीहरूका केही अभिव्यक्ति भावनात्मक वा आक्रामक देखिए पनि त्यसलाई दबाबका रूपमा मात्र नहेरी नीतिगत छलफलमार्फत सम्बोधन गर्नुपर्ने उनले बताएकी थिइन्।
बालबालिकाको जीवनको प्रारम्भिक चरणमा संज्ञानात्मक विकास तीव्र गतिमा हुने भएकाले ईसीडी शिक्षालाई विशेष महत्त्व दिनुपर्नेमा उनले जोड दिइन्। यही अवधिमा बालबालिकामा इन्द्रिय, शारीरिक तथा मोटर, सामाजिक र संज्ञानात्मकलगायत आधारभूत सीपको विकास हुने उनको भनाइ थियो।
खेलमा आधारित सिकाइ तथा विभिन्न सीपमूलक गतिविधिमार्फत बालबालिकाको समुचित विकास गर्न सके भविष्यमा उनीहरू आत्मविश्वासी, सक्षम र दक्ष नागरिक बन्न सक्ने उनले बताइन्। दक्ष र आत्मविश्वासी नागरिकको संख्या बढ्दै जाँदा त्यसले मुलुकको समग्र विकास र समृद्धिमा समेत योगदान पुर्याउने उनको धारणा थियो।
सभापति शेरचनले ईसीडी शिक्षा एक वर्ष वा दुई वर्षको बनाउने विषयमा समेत गम्भीर अध्ययन आवश्यक रहेको बताएकी थिइन्। अन्तर्राष्ट्रिय अध्ययनहरूले एक वर्षको तुलनामा दुई वर्ष ईसीडी शिक्षा प्राप्त गरेका बालबालिकाको शैक्षिक तथा समग्र कार्यसम्पादन राम्रो देखाएको उनले उल्लेख गरिन्।
उनका अनुसार दुई वर्षे ईसीडी शिक्षा पूरा गरेका बालबालिकामा पछि विशेष शिक्षाको आवश्यकता कम पर्ने लगायतका सकारात्मक प्रभावसमेत देखिएका छन्। त्यसैले नेपालमा ईसीडी शिक्षाको अवधि, पाठ्यक्रम, शिक्षकको भूमिका र कक्षाको संरचनाबारे निर्णय गर्दा बालबालिकाको दीर्घकालीन सिकाइ र विकासलाई केन्द्रमा राख्नुपर्ने देखिन्छ।
विद्यालय शिक्षा विधेयकमाथि हुने आगामी छलफलमा यिनै विषयलाई समेटेर ईसीडी शिक्षालाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउने नीतिगत आधार तयार गर्ने तयारी भइरहेको छ। यसले लामो समयदेखि ईसीडी शिक्षा र शिक्षकका विषयमा उठ्दै आएका माग तथा चासोलाई नीतिगत रूपमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ।