रुपन्देही- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको बताएका छन्। उनले भविष्यको आवश्यकतालाई सम्बोधन गर्ने गरी वास्तविक धरातलमा आधारित र दीर्घकालीन प्रभाव पार्ने ऐन निर्माण गरिने बताएका हुन्।
शिक्षा विभागको आयोजनामा लुम्बिनी प्रदेशअन्तर्गतका १०९ स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधिका लागि आयोजित आर्थिक वर्ष २०८३/८४ का नीति, निर्देशिका, मापदण्ड तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन्।
मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणका क्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग व्यापक छलफल गरिने बताए। सम्बन्धित पक्षबाट प्राप्त सुझावलाई समेटेर ऐनलाई व्यवहारिक र प्रभावकारी बनाउने उनको भनाइ थियो।
उनले विगतका अभ्यास र वर्तमान आवश्यकतालाई आधार बनाएर शिक्षा क्षेत्रलाई दीर्घकालीन रूपमा प्रभाव पार्ने नीति तथा कानुनी व्यवस्था आवश्यक रहेको बताए। शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै बदलिँदो समयअनुकूल शिक्षा प्रणाली विकास गर्न ऐन महत्वपूर्ण हुने उनले उल्लेख गरे।
मन्त्री पोखरेलका अनुसार विद्यालय शिक्षा ऐनसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको कामसमेत अघि बढिरहेको छ। विद्यालय शिक्षाको गुणस्तर सुधार तथा पाठ्यक्रमलाई समयानुकूल बनाउन आवश्यक तयारी भइरहेको उनले जानकारी दिए।
ऐन निर्माण र पाठ्यक्रम परिमार्जनको प्रक्रियाले नेपालको शिक्षा क्षेत्रमा दीर्घकालीन रूपान्तरणको आधार तयार गर्ने मन्त्री पोखरेलको दाबी छ। शिक्षा प्रणालीलाई विद्यार्थीकेन्द्रित, व्यवहारिक र समयसापेक्ष बनाउन नीतिगत सुधारलाई प्राथमिकता दिइएको उनले बताए।
कार्यक्रममा लुम्बिनी प्रदेशअन्तर्गतका १०९ वटै स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूबीच शिक्षा क्षेत्रका नीति, निर्देशिका, मापदण्ड तथा कार्यक्रम कार्यान्वयनसँग सम्बन्धित विषयमा अभिमुखीकरण तथा छलफल गरिएको थियो।
स्थानीय तहबाट शिक्षा क्षेत्रमा सञ्चालन भइरहेका कार्यक्रमलाई प्रभावकारी बनाउने, नीतिगत व्यवस्था कार्यान्वयनमा देखिएका समस्या पहिचान गर्ने तथा आवश्यक समन्वय बढाउने विषयमा समेत कार्यक्रममा छलफल गरिएको जनाइएको छ।