काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रलाई जनताको दैनिक जीवनमा प्रत्यक्ष सेवा, परिणाम र परिवर्तनसँग जोड्ने पुलको भूमिका कांग्रेसले निर्वाह गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले लामो राजनीतिक संघर्ष र परिवर्तनपछि पनि रोजगारी सिर्जना, युवा पलायन रोकथाम र जनताको जीवनस्तर सुधारका विषयमा अपेक्षित परिणाम आउन नसकेको भन्दै गम्भीर समीक्षा आवश्यक रहेको बताए।
उनले मुलुकले विगत ३५ वर्षमा युद्ध, शान्ति प्रक्रिया, राजनीतिक संक्रमण र विभिन्न परिवर्तन व्यहोरे पनि त्यसको प्रत्यक्ष लाभ जनताको जीवनमा पर्याप्त रूपमा पुग्न नसकेको बताए। राजनीतिक परिवर्तनपछि पनि गाउँ रित्तिँदै जानु र युवाहरू रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको कारण खोज्नुपर्ने उनको भनाइ थियो।
‘३५ वर्षदेखि युद्ध किन व्यहोर्यौँ ? शान्ति प्रक्रियामा पनि यहीँ भयो । यही ३५ वर्षभित्र सबै गाउँ रित्तिए । किन रोजगारी भएन ? युवा किन पलायन भए ?’ थापाले प्रश्न गरे।
थापाले मुलुकको वर्तमान राजनीतिक अवस्थालाई पनि विगतको राजनीतिक यात्रासँग जोडेर समीक्षा गर्नुपर्ने बताए। राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनेको वर्तमान अवस्थालाई केवल राजनीतिक परिवर्तनका रूपमा नभई विगतका कमजोरी र जनअपेक्षाको परिणामका रूपमा समेत हेर्नुपर्ने उनको संकेत थियो।
उनले रोजगारी, उत्पादन, आर्थिक विकास र जनताको जीवनस्तर सुधारका विषयमा सबै राजनीतिक दलले साझा रूपमा आत्मसमीक्षा गर्नुपर्ने बताए। राजनीतिक परिवर्तनसँगै आर्थिक तथा सामाजिक रूपान्तरणलाई समान प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
‘यो विषय हामी सबै मिलेर खोज्नुपर्छ । हामी महाधिवेशनमा यही कुरा जनतालाई परिणाम दिनका लागि के गर्ने, कांग्रेस कस्तो बनाउने भनेर मन्थन गर्नेछौँ,’ थापाले भने।
कांग्रेसले अब लोकतन्त्रको कुरा मात्र गरेर नपुग्ने भन्दै उनले जनतालाई प्रत्यक्ष परिणाम दिने राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्नुपर्ने बताए। लोकतान्त्रिक व्यवस्था र जनताको अपेक्षाबीच बढेको दूरी घटाउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने उनको भनाइ थियो।
‘डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ,’ थापाले भने, ‘पुराना र नयाँ पुस्तालाई जोड्ने काम कांग्रेसले गर्छ । यही संकल्प गर्छ।’
कांग्रेस कमजोर वा निष्क्रिय हुँदा लोकतान्त्रिक व्यवस्था र जनताबीचको विश्वाससमेत कमजोर हुन सक्ने उनले बताए। कांग्रेसले आफूलाई जनताको आवश्यकता, अपेक्षा र दैनिक जीवनसँग जोडेर अघि बढाउनुपर्नेमा थापाले जोड दिए।
‘आजको दिनमा नेपाली कांग्रेस बन्द भयो भने के हुन्छ भन्ने कुरा जनताले सोच्नुपर्ने बनाउने काम गर्नुपर्छ,’ उनले भने, ‘पुल ढल्यो भने विश्वास ढल्छ । त्यो विश्वासका लागि कांग्रेसले काम गर्नुपर्नेछ।’
थापाले कांग्रेसले तत्कालको राजनीतिक लाभभन्दा आफ्नो सिद्धान्त, मूल्य र राजनीतिक आदर्शलाई प्राथमिकता दिनुपर्ने बताए। चुनावी लाभका लागि सिद्धान्तसँग सम्झौता गर्ने प्रवृत्तिबाट पार्टी टाढा रहनुपर्ने उनको भनाइ थियो।
‘हामी लाउलापाते होइनौँ, हामी स्पष्ट हुन्छौँ । सिद्धान्तमा अडिनुपर्दा पाँचवटा चुनाव हार्न तयार छौँ, तर सिद्धान्तसँग सम्झौता गर्दैनौँ भन्ने हुनुपर्छ,’ थापाले भने।
आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्र तथा उद्योगी–व्यवसायीको भूमिकालाई सम्मान गर्नुपर्नेमा पनि उनले जोड दिए। उत्पादन, लगानी र रोजगारी विस्तारका लागि उद्योगी–व्यवसायीले सम्मानित र सुरक्षित वातावरण पाउनुपर्ने उनको भनाइ थियो।
निर्वाचन राजनीतिक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा भए पनि तत्कालको चुनावी लाभलाई मात्र केन्द्रमा राखेर राजनीति गर्न नहुने थापाले बताए। दीर्घकालीन रूपमा देश र जनताको हितमा काम गर्ने राजनीतिक संस्कार निर्माण गर्नुपर्ने उनको जोड थियो।
थापाले १५औँ महाधिवेशनलाई कांग्रेसको नेतृत्व परिवर्तन गर्ने अवसरमा मात्र सीमित नगरी पार्टीको आगामी राजनीतिक दिशा, नीति, सिद्धान्त र जनतालाई परिणाम दिने क्षमताबारे गम्भीर मन्थन गर्ने अवसर बनाउनुपर्ने बताए।