काठमाडौँ- नेपालमा शैक्षिक परामर्शको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका व्यवसायीहरूले नेपाली विद्यार्थीलाई विदेश पठाउनेसँगै विदेशी विद्यार्थीलाई नेपाल भित्र्याउने वातावरणसमेत सरकारले बनाउनुपर्ने बताएका छन्।
शैक्षिक परामर्श व्यवसायीहरूका अनुसार नेपालका परामर्शदाताहरूले विभिन्न देशका शैक्षिक संस्था तथा विद्यार्थीहरूसँग सहकार्य गर्दै आएका छन्। यही अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई प्रयोग गरेर विदेशी विद्यार्थीलाई नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्थामा अध्ययनका लागि आकर्षित गर्न सकिने उनको भनाइ छ।
नेपालमा विदेशी विद्यार्थी ल्याउने विषय नयाँ नभएको भन्दै उनीहरूले सुरुदेखि नै यस विषयमा सरकारलाई सुझाव दिँदै आएको बताएका छन्। तर विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि ल्याउन आवश्यक प्रक्रिया, नीति तथा प्रशासनिक व्यवस्था अझै सहज र स्पष्ट हुन नसकेको उनीहरूको गुनासो छ।
“हामी नेपाली विद्यार्थीलाई विदेश पठाउने काम मात्र गर्दैनौँ। विदेशी विद्यार्थीलाई नेपालमा ल्याएर यहाँ अध्ययन गर्ने वातावरण बनाउन पनि सक्छौँ। त्यसका लागि सरकारले हामीलाई स्पष्ट बाटो र आवश्यक सहजीकरण गरिदिनुपर्छ,” उनीहरूले भने।
परामर्श व्यवसायीहरूले विदेशी विद्यार्थीलाई नेपाल ल्याउन निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन्। विदेशी विद्यार्थीका लागि अध्ययन अनुमति, विश्वविद्यालय तथा शैक्षिक संस्थासँगको समन्वय, प्रवेश प्रक्रिया लगायतका विषयलाई सहज र व्यवस्थित बनाउन सके नेपालमा विदेशी विद्यार्थीको संख्या बढाउन सकिने उनीहरूको धारणा छ।
नेपालमा विदेशी विद्यार्थी भित्र्याउन सके शिक्षा क्षेत्रको अन्तर्राष्ट्रियकरणसँगै पर्यटन, रोजगारी तथा अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने उनको भनाइ छ।
त्यसैले सरकारले विदेशी विद्यार्थी आकर्षित गर्ने स्पष्ट नीति निर्माण गरी शैक्षिक परामर्श व्यवसायीलाई समेत त्यस अभियानमा सहभागी गराउनुपर्ने उनीहरूले माग गरेका छन्। नेपालका शैक्षिक परामर्श व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा बनाएको सञ्जाल र अनुभवलाई सरकारले सदुपयोग गर्नुपर्ने उनीहरूको जोड छ।