काठमाडौँ- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजश्वी शेरचनले आगामी विद्यालय शिक्षा ऐनमा प्रारम्भिक बाल विकास (ईसीडी) लाई स्पष्ट पहिचानसहित कानुनी व्यवस्था गर्नुपर्ने बताएकी छन्।
आइतबार काठमाडौंमा सरोकारवालासँग भएको छलफलमा बोल्दै सभापति शेरचनले प्रारम्भिक बाल विकासलाई प्रभावकारी बनाउन वैज्ञानिक प्रमाणमा आधारित नीति र सिर्जनशीलतामुखी सिकाइ प्रणाली आवश्यक रहेको बताइन्।
उनले प्रारम्भिक तहमा रटानमा आधारित शिक्षण पद्धतिको सट्टा खेलमा आधारित तथा बालकेन्द्रित सिकाइ प्रणालीलाई प्राथमिकता दिने गरी शिक्षा ऐन निर्माण गर्नुपर्नेमा जोड दिइन्। बालबालिकाको सिकाइ प्रभावकारी बनाउन स्थानीय तहले ईसीडी केन्द्रमा बालकेन्द्रित तथा खेलमा आधारित सिकाइ भए–नभएको नियमित अनुगमन र निरीक्षण गर्नुपर्ने उनको भनाइ थियो।
सभापति शेरचनले विद्यालय शिक्षा ऐन निर्माणका क्रममा भारतलगायत अन्य मुलुकमा ईसीडीका क्षेत्रमा भएका अभ्यासबाट समेत सिक्न सकिने बताइन्। भारतमा तीन वर्षदेखि आठ वर्षसम्मका बालबालिकालाई लक्षित गरी पाठ्यक्रम विकास गरिएको उल्लेख गर्दै उनले नेपालको सामाजिक, सांस्कृतिक र सामुदायिक परिवेशअनुकूल शिक्षा प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याइन्।
उनले भनिन्, “हामीले हाम्रो शिक्षा प्रणाली परिवर्तन गर्न जरुरी छ। यो रटानको सिकाइ प्रणालीभन्दा बरु खेलमा आधारित प्रणालीमा जानुपर्छ। स्थानीय तहले खेलमा आधारित सिकाइ भए–नभएको निरन्तर निरीक्षण गर्नुपर्छ।”
सभापति शेरचनका अनुसार नेपालमा हाल करिब १२ लाख २० हजार ५ सय ३८ बालबालिका ईसीडीमा आबद्ध छन्। ईसीडीमा विद्यार्थी भर्नाको अनुपात निजी विद्यालयतर्फ बढी रहेको तथ्यांकसमेत उनले प्रस्तुत गरिन्।
उनले ईसीडीको प्रभावकारी व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट रूपमा बाँडफाँट गर्नुपर्ने बताइन्। साथै, शिक्षा ऐन निर्माणका क्रममा सरोकारवालाबाट प्राप्त माग, सुझाव र आवश्यकतालाई अधिकतम रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
सभापति शेरचनले नेपालको कला, संस्कृति, समुदायको आवश्यकता तथा सामाजिक परिवेशलाई ध्यानमा राखेर बालबालिकाको सिकाइ प्रणाली विकास गर्नुपर्नेमा समेत जोड दिइन्।