काठमाडौँ- अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संघ (आइपेन) का संस्थापक अध्यक्ष तथा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन ग्रुप अफ इन्स्टिच्युसन्सका ग्रुप चेयरम्यान पंकज जालानले नेपाललाई दक्षिण एसियाकै शैक्षिक हबका रूपमा विकास गर्न सकिने बताएका छन्। त्यसका लागि सरकारले आवश्यक नीतिगत सुधार र कानुनी व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन्।
जालानका अनुसार नेपालले उपयुक्त शैक्षिक नीति तथा पूर्वाधारको विकास गर्न सके पाँच वर्षभित्र करिब ७ हजार विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि आकर्षित गर्न सकिन्छ । आइपेनले विगत १० वर्षदेखि ‘स्टडी इन नेपाल’ को अवधारणा अघि बढाउँदै आएको र यसका लागि सरकारसँग नीतिगत पहल गर्न आग्रह गर्दै आएको उनले बताए।
नेपालको भौगोलिक अवस्थिति र तटस्थ राष्ट्रको पहिचानलाई अवसरका रूपमा उपयोग गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आकर्षक शैक्षिक गन्तव्य बनाउन सकिने उनको भनाइ छ । तर, त्यसका लागि उच्च शिक्षाको गुणस्तर, शैक्षिक संस्थाहरूको विश्वसनीयता र विदेशी विद्यार्थीलाई सहज रूपमा अध्ययन गर्न सक्ने वातावरण निर्माणमा ध्यान दिनुपर्ने उनले बताए।
जालानले विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न विद्यार्थी भिसासम्बन्धी व्यवस्थालाई सहज बनाउनुपर्ने आवश्यकता औँल्याए । साथै, विदेशी विद्यार्थी र उनीहरूका अभिभावकले नेपाल भ्रमणका क्रममा गर्नुपर्ने भुक्तानी नेपाली रुपैयाँमै गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ।
उनका अनुसार ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत तथा कानुनी अवरोध हटाउनुका साथै यससम्बन्धी छुट्टै संयन्त्रका रूपमा ‘स्टडी इन नेपाल डेस्क’ स्थापना गर्नुपर्छ। यसले विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि आकर्षित गर्ने प्रक्रिया व्यवस्थित र सहज बनाउन सहयोग पुग्ने उनको विश्वास छ।
नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्न निजी शैक्षिक संस्थाहरू सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको जालानले बताए । सरकारले आवश्यक नीति निर्माण र कार्यान्वयनमा सहयोग गरे नेपाललाई दक्षिण एसियाकै प्रमुख शैक्षिक हबका रूपमा विकास गर्न सकिने उनले धारणा राखे।
उनले नेपालमा विदेशी विद्यार्थीको आगमन बढाउनुका साथै अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा नेपालको पहिचान स्थापित गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।