काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समितिको पूर्ण भौतिक बैठक आगामी शनिबार चितवनमा बस्ने भएको छ। राहत शिक्षकका समसामयिक समस्या, माग तथा संगठनको भावी रणनीतिबारे छलफल गरी आवश्यक निर्णय लिन बैठक आयोजना गर्न लागिएको हो।
समितिले जारी गरेको सूचनाअनुसार बैठक शनिबार बिहान ११ बजे भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमुना माध्यमिक विद्यालयमा बस्नेछ।
गत कात्तिक ८ गते बसेको पदाधिकारी समितिको अनलाइन बैठकको निर्णयअनुसार पूर्ण बैठक बोलाइएको समितिले जनाएको छ। बैठकमा राहत शिक्षकका अल्पकालीन तथा दीर्घकालीन मागका साथै शिक्षा क्षेत्रका समसामयिक विषयमा छलफल गरिनेछ।
त्यसैगरी, समितिको आगामी कार्यदिशा तय गर्ने, सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउने तथा संगठनलाई थप सुदृढ बनाउने विषयमा समेत बैठक केन्द्रित रहनेछ।
बैठकमा केन्द्रीय समितिका सम्पूर्ण पदाधिकारी, संरक्षक, सहसंरक्षक, सल्लाहकार समिति संयोजक, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
समितिका अध्यक्ष वीरेन्द्र मल्ल र महासचिव डम्बर राईद्वारा जारी सूचनामा बैठकअघि सातै प्रदेशका कार्यसमितिको बैठक बसेर तयारी पूरा गर्नसमेत आग्रह गरिएको छ।
राहत शिक्षकका मागलाई व्यवस्थित रूपमा अघि बढाउन, संगठनात्मक एकता बलियो बनाउन र आगामी कार्यक्रमको दिशा निर्धारण गर्न बैठक महत्वपूर्ण हुने समितिको अपेक्षा छ। बैठक सफल बनाउन सम्बन्धित सबै पदाधिकारी तथा सदस्यलाई आवश्यक सहयोग गर्न पनि समितिले अनुरोध गरेको छ।