काठमाडाैँ- शिक्षक महासंघले जारी आन्दोलनको कार्यक्रम फिर्ता नलिएसम्म कक्षा १२ को परीक्षा अनिश्चित हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यालय नखुले परीक्षा सञ्चालन गर्न नसकिने भएकाले यस विषयमा बैठकले निर्णय गर्ने जनाएको हाे।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षा सञ्चालनका लागि अन्तिम तयारी भएता पनि आन्दोलन फिर्ता नभए यही अवस्थामा परीक्षा गर्ने सम्भावना नभएकाे बताए। उनले भने,'सोमबारभित्र शिक्षक आन्दोलन फिर्ता गरेर कार्यक्षेत्रमा नगएसम्म परीक्षा सञ्चालन गर्न संभव छैन। हामी त एकदिन अघिसम्म प्रश्नपत्र पठाएर भएपनि परीक्षा लिन तयार छौ, तर परीक्षा संचालन र व्यवस्थापन गर्ने जिम्मा लिएका शिक्षक केन्द्रमा प्रवेश नगरेसम्म परीक्षा हुन कठिन छ।'
परीक्षा सञ्चालन गर्ने विषयमा बोर्डले शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री विद्या भट्टराई, शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी लगायत, जिल्लास्थित परीक्षा समन्वय समितिसँग छलफल गरेकाे थियाे। बोर्डले सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाइसकेको छ। अनलाइनबाट प्रश्नपत्र पठाउने भएपछि कुनै समस्या छैन प्रअनै आन्दोलनमा आएको कारण परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नगएको कारण यही अवस्थामा परीक्षाा हुन नसक्ने बाेर्डले जनाएकाे छ।
महासंघले ६ दिनअघि केन्द्राध्यक्ष, निरीक्षक लगायत सबैलाई कुनैपनि काममा संलग्न नहुनसबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरिसकेको छ। शिक्षक नै परीक्षा केन्द्रको केन्द्राध्यक्ष, निरीक्षक हुने भएकोले उनीहरुको सहयोग नभएको कारण परीक्षा स्थगित हुन लागेको हो। महासंघले साेमबारदेखि सबै निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ। कक्षा १२ को परीक्षामा १ हजार ५सय ९१ परीक्षा केन्द्र छ। केन्द्र कायम भएका अधिकांस सामुदायिक विद्यालय छन्।
परीक्षामा करिब ४४ हजार जनशक्ति परिचालित हुनेछन्। ती सबै विद्यालयका प्रअदेखि शिक्षक, कर्मचारी र कार्यालय सहयोगी हुन्। परीक्षामा नियमित, आंगिक र २२ वर्ष पुराना परीक्षार्थीसहित ५ लाख ५१ हजार परीक्षार्थी सहभागी हुनेछन्। बिसं २०५६ देखि ०७७ सम्मका ३८ हजार परीक्षार्थी छन्। आंशिक तर्फ ९९ हजार ७ सय ९३ र नियमिततर्फ ३ लाख ९७ हजार ९ सय ७५विद्यार्थी छन्।