काठमाडौँ- कक्षा १२ को परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडीलगायतलगायत ‘इलेक्ट्रोनिक्स डिभाइस’ लैजान निषेध गरिएको छ। परीक्षा हलमा मोबाइल प्रयोग गरे कारबाही गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
त्यस्ता मोबाइल जफत, कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने र ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले शनिबार जारी गरेको सूचनामा उल्लेख छ।
'परीक्षालाई मर्यादित एवं व्यवस्थित रूपमा सञ्चालन गर्न परीक्षा हलभित्र मोबाइल फोन तथा स्मार्ट घडीलगायतका अन्य इलेक्ट्रोनिक्स डिभाइस लैजान पूर्ण रूपमा निषेध गरिएको बेहोरा सम्पूर्ण केन्द्राध्यक्ष एवं परीक्षार्थीहरूमा अनुरोध छ,' सूचनामा भनिएको छ, 'सूचनालाई अवज्ञा गरी परीक्षाहलमा मोबाइलको प्रयोग गरेको पाइएमा त्यस्ता मोबाइलहरू जफत गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइनुका साथै सम्पूर्ण विषयको परीक्षा रद्द हुने बेहोरा समेत विद्यार्थी, अभिभावक एवं सम्पूर्ण सरोकारवालाहरूमा जानकारी गराइन्छ।'
बोर्डले कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपांगता भएका परीक्षार्थीका निम्ति यसक्रममा विशेष व्यवस्था गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।
यस्तै, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको छ। जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना जोकोहीलाई परीक्षा केन्द्रमा प्रवेश गर्न दिइने छैन।
परीक्षाको मर्यादा पालना नगरेको अवस्थामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक तत्काल परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ।
'विगतका परीक्षाहरूमा परीक्षाको मर्यादा उल्लंघन गरी कारबाहीमा परेका व्यक्तिहरू (परीक्षासम्बन्धी कुनै पनि जिम्मेवारीमा) नियुक्ति भएको पाइएमा जिल्ला परीक्षा समन्वय समितिले फेरबदल गर्न सक्ने व्यवस्था मिलाइएको,' परीक्षा नियन्त्रक शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यो वर्षको कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख २१ गते (आइतबार)देखि सुरु हुँदैछ।
आउँदो जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका निम्ति कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी रहेका बोर्डले जनाएको छ।
यो वर्ष सबैभन्दा कम मनाङबाट कुल ४५ परीक्षार्थी सहभागी हुँदै छन्। सबैभन्दा धेरै काठमाडौंबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुनेछन् ।
नेपालभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ। सबैभन्दा बढी काठमाडौंमा १६२ र कम मनाङ/मुस्ताङमा एक/एक केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ।
वैशाख ११ गतेदेखि परीक्षा हुने यसअघि तय भए पनि शिक्षक, कर्मचारीको आन्दोलनका कारण सारिएको थियो।