काठमाडाैँ - ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पालिकाभित्र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो।
सिरिजङ्घा गाउँपालिका शिक्षा शाखाका अनुसार २०८१ को एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउने एक-एक जना छात्रछात्रा सम्मान गरिएको हो। गाउँपालिकाभित्रको विद्यालयबाट एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल छात्रतर्फ सिनाम माध्यमिक विद्यालयका रोहित शङ्खर विश्वकर्मा (३.१८ जिपिए) सम्मानित भएका थिए।
यस्तै, छात्रातर्फ एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल तेल्लोक माध्यमिक विद्यालयका अनिसा लिम्बू (२.९७ जिपिए) सम्मानित हुनुभएको छ। सर्वोत्कृष्ट नतिजा ल्याउने छात्र विश्वकर्मालाई ३० हजार रुपैयाँ र उत्कृष्ट नतिजा ल्याउने छात्रा लिम्बूलाई २५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र सम्मानपत्र प्रदान गरिएको छ।
यसैगरी, कक्षा ८ को परीक्षमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल सिनाम माविका छात्र प्रसान्त भण्डारी (३.७४ जिपिए) र उत्कृष्ट नतिजा ल्याउने सिनाम माविकै मेलिस्का माझी (३.७२ जिपिए) सम्मानित भएका छन्। सर्वोत्कृष्ट नतिजा ल्याउने भण्डारीलाई १५ हजार र उत्कृष्ट नतिजा ल्याउने माझीलाई १२ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र सम्मान प्रदान गरिएको शिक्षा शाखाले जनाएको छ।
त्यस्तै, सिरिजङ्घा गाउँपालिकाले अन्तर पालिकास्तरीय वक्तृत्वकला तथा हाजिरीजवाफ प्रतियोगितासमेत सम्पन्न गरेको छ। ‘सिरिजङ्घामा पर्यटन, हाम्रो पहिचान’ भन्ने शीर्षकमा गरिएको वक्तृत्वकला प्रतियोगितामा फुङ्लिङ नगरपालिकाबाट सहभागी भानुजन माध्यमिक विद्यालयकी छात्रा विद्वता पोख्रेल प्रथम भएकी छिन्।
वक्तृत्वकलामा प्रथम हुन सफल पोख्रेलले २० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाए। सिरिजङ्घा गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ मा समावेश योजना तथा कार्यक्रमअनुसार उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान साथै वक्तृत्वकला र हारिजरी जवाफ प्रतियोगिता कार्यक्रम गरिएको उपाध्यक्ष डा. चित्रकुमार माबो लिम्बूले जानकारी दिए। सम्मान तथा प्रतियोगिता कार्यक्रमले विद्यार्थीको पठाइमा सहयोग पुग्नुका साथै शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने अपेक्षा राखिएको उपाध्यक्ष डा. लिम्बूको भनाइ छ।