काठमाडाैँ - सिन्धुलीको मरिण गाउँपालिकाले यस वर्ष स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने किशोरी तथा अविवाहित महिलालाई एक लाख रुपैँया प्रोत्साहन भत्ता दिने भएको छ। पालिकाले बाल विवाह न्यूनीकरणका लागि २० वर्ष पूरा गरी स्नातक तह उत्तीर्ण गरेर विवाह गर्ने किशोरी तथा विवाह नगरी बसेका महिलालाई उक्त भत्ता उपलब्ध गराउन लागेको हो।
बाल विवाहलाई न्यूनीकरण गर्न र उच्च शिक्षामा विपन्न वर्गको पहुँच पुर्याउन यो कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ। त्यस्ता किशोरी तथा अविवाहित महिलालाई उक्त रकम वितरण गर्न गाउँपालिकाले बिहिबार १५ दिने सूचना आह्वान गरेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिए। उनले भने, ‘उक्त भत्ता वितरण गर्न गाउँपालिकाले यो वर्ष पाँच लाख रुपैँया बजेट विनियोजन गरेको छ। निवेदन मागेका छौँ, कतिको निवेदन पर्छ। परेको निवेदनमाथि छानबिन गरी जनही नगद एक लाख रुपैयाँ भत्ता उपलब्ध गराउँछौँ।’

उक्त अवधिभित्र मापदण्ड पूरा गरी निवेदन हाल्ने सबैलाई उक्त भत्ता वितरण गरिने उनको भनाइ छ। गाउँपालिकाले कार्यविधि बनाएर आर्थिक वर्ष ०७९-०८० देखि नीति तथा कार्यक्रममा समावेश गरी उक्त कार्य सुरु गरेको हो। तल्लो कक्षाको पढाइ पूरा नहुँदै छात्राहरुको विवाह गर्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न उक्त कार्यक्रम ल्याएको हो।
उक्त कार्यक्रमले अभिभावकलाई पनि आफ्ना छोरीलाई उच्च शिक्षा हासिल गराउन उत्प्रेरणाका साथै सहयोग पुगेको छ। ‘हाम्रो पालिकामा किशाेरीहरुको तल्लो कक्षामा अध्ययनरत हुँदै विवाह गर्ने चलन बढी देखियो’, उनले भने, ‘पारिवारिक आर्थिक विपन्नताका कारण विवाहपछि उनीहरु उच्च शिक्षामा पहुँच पनि कम पाइयो। त्यसैले उनीहरुलाई उच्च शिक्षा पहुँच पुर्याई सक्षम नागरिक बनाउन पनि यो कार्यक्रम ल्याएका हौँ।’
त्यस्ता किशाेरी तथा महिलाले एक पटक मात्रै उक्त भत्ता पाउने गाउँपालिकाले जनाएको छ। उक्त भत्ता प्राप्त गर्नका लागि अविवाहित रही गाउँपालिकाभित्र स्थायी बसोबास भएको र मरिण गाउँपालिकाभित्र सञ्चालन भएको क्याम्पसमा अध्ययन गरेको हुनुपर्ने उनले बताए।
गाउँपालिकाले गत आर्थिक वर्ष ०८१-०८२ मा दुई जना र आर्थिक वर्ष ०८०-०८१ मा पाँच जना त्यस्ता किशाेरी तथा महिलालाई उक्त भत्ता वितरण गरेको थियो।