काठमाडौँ - राष्ट्रिय परिचयपत्र पाएका व्यक्तिले मतदाता नामावलीका लागि निर्वाचन कार्यालय पुग्न नपर्ने भएको छ। आफूलाई सहज हुने स्थानबाटै फारम भरेपछि स्वत: राष्ट्रिय परिचयपत्रमा भएको विवरण मतदाता नामावलीका लागि प्रयोग गर्ने व्यवस्था मिलाइएको हो।
निर्वाचन आयोगले आजैबाट लागू हुनेगरी राष्ट्रिय परिचयपत्र बनाएका व्यक्तिको हकमा अनलाइनबाट फारम मात्रै भरे हुने व्यवस्था गरेको हो।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अुनसार, अनलाइन मतदाता नामावली संकलन गर्नेहरूको नेशनल आइडि कार्ड (राष्ट्रिय परिचयपत्र) बाट बायोमेट्रिक लिएर नामावली संकलनका लागि थप सहज बनाइएको जानकारी दिए।‘अहिले हाम्रो नेशनल आइडि (राष्ट्रिय परिचयपत्र) को भण्डारमा जम्मा भएको बायोमेट्रिक अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानविन गरेर नामावली प्रकाशन गर्ने भन्ने निर्णय गरेका छौँ। त्यसले तपाईंहरूका सबै मागलाई सम्बोधन गर्दछ,’ भण्डारीले भने।
जेनजी प्रतिनिधिहरूसँगको छलफलका क्रममा मतदाता नामावली संकलनलाई थप सहज बनाउन आयोगले यस्तो व्यवस्था गरेको उनको भनाइ छ।
यसका लागि आयोगले बुधबार रातभर प्राविधिक काम गरेको थियो।अहिले धेरै नागरिकहरूले राष्ट्रिय परिचयपत्र बनाइसकेकाले मतदाता नामावलीका लागि थप सहज हुने विश्वास आयोगले लिएको छ।राष्ट्रिय बनाइसकेका नागरिकहरू भए अब अनलाइनबाट मतदाता नामावली संकलन गर्नेहरूको बायोमेट्रिक नेशनल आइडी कार्डबाटै लिइनेछ।
सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ता गर्ने समय सीमा तोकेको छ। यो समय सकिन अब तीन दिन मात्र बाँकी छ।तर, ठूलो संख्यामा मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको विवरण छुट्नसक्ने देखिएपछि सरकारले यस्तो व्यवस्था मिलाएको हो। आयोगको निर्णयसँगै जिल्ला निर्वाचन कार्यालयहरूले कार्यान्वयनमा ल्याइसकेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए।
‘राष्ट्रिय परिचयपत्र भएका नागरिकले अब मतदाता नामावलीका लागि फोटो खिच्ने, बायोमेट्रिक गर्ने लगायतका कार्यका लागि धाउनुपर्दैन। नभएकाले भने अनलाइन फारम भनेर बायोमेट्रिकका लागि आउनुपर्छ,’ उनले भने।
