काठमाडाैँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण अगामी फागुन २१ गते हुने तय गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रभावित हुने भएको छ। जनकशिक्षा सामाग्री केन्द्रले मतपत्र छपाई कार्य सुरु गरेसँगै अगामी चैत पहिलो साता गर्ने तयारी रहेको एसईई परीक्षा कार्यतालिका नै प्रभावित हुने भएको राष्ट्रिय परीक्षा बोर्डका एसईई तर्फका परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।
उनले निर्वाचनलाई केन्द्रमा राखेर बोर्डले आगामी एसईई परीक्षाको तालिका सार्वजनिक गर्ने तयारीमा जुटेको बताए। निर्वाचनले परीक्षा केहि दिन सार्नु पर्ने अवस्था सृजना भएको उनको भनाइ छ। बोर्डको क्यालेन्डर अनुसार यो वर्षको एसईई ०८२ चैतको पहिलो सातादेखि सञ्चालन गर्ने तयारी थियो। जनकशिक्षाले प्रश्नपत्र छपाईमा केहि दिन ढिला हुन सक्ने संकेत गरेसँगै एसईई केहि साता सार्नु पर्ने अवस्था आएको नियन्त्रक अधिकारीले बताए।
‘यस पटक एसईई परीक्षाको लागि ५ लाख १७ हजारले परीक्षा फारम भरेका छन्। करिब ७२ विषयमा परीक्षा संचालन हुन्छ,’ नियन्त्रक अधिकारीले भने, ‘तर जनकले नै प्रश्नपत्र छापाई कार्य गर्दै आएकोले जनकले मतपत्र छपाई कार्य गर्दा एसईईको प्रश्नपत्र छपाई कार्य केहि दिन ढिला हुने सक्ने जनाउँदै आएको छ।’ उनले थपे,‘बोर्डको क्यालेन्डर अनुसार फागुन १ गतेदेखि नै प्रश्नपत्र छपाई कार्य जनकले सुरु गर्नु पर्छ। तर जनकले मतपत्र र शैक्षिक सत्र अगावै पाठ्यपुस्तको छपाई पनि पूरा गर्नु पर्ने भएकोले केहि दिन समय मागेको छ। यसकारण माघ ५ गते एसईई बोर्ड बैठक बसेर निर्वाचनलाई ध्यानमा राख्दै केहि दिन सार्ने गरि एसईई तालिका सार्वजनिक हुन्छ।’ फागुन २१ मा हुने निर्वाचन र जनकको मतपत्र छपाईको अवस्था हेरेर बोर्डले अगामी एसईई परीक्षा नियमित कार्यतालिका भन्दा केहि दिन सर्न सक्ने उनले जनाए।
जनकशिक्षा सामाग्री केन्द्रले मंगलबारदेखि नमुना मतपत्र छपाई कार्य सुरु गर्नेछ। जनकले यस पटक कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताको लागि प्रत्यक्षतर्फ २ करोड ८ लाख र समानुपाति तर्फ २ करोड ८ लाख थान गरी कुल ४ करोड १६ लाख थान मतपत्र छपाई गर्न निर्वाचन आयोगसँग समझौता गरेको जनकका प्रवबन्ध निर्देक यदुनाथ पौडेलले बताए। प्रबन्ध निर्देशक पौडेलका अनुसार मतपत्र छपाई, पाठ्यपुस्तक छपाई र एसईईको प्रश्नपत्र छपाई तीन वटै कार्य सरकारी नै भएकोले अब सरकारले नै एसईईको समयावधिबारे सही निर्णय लिनुपर्छ।
‘सरकारले जनकलाई विद्यालय तहको पाठ्यपुस्तक १ करोड ७० लाख थान छपाईको कार्य दिएको थियो। जसमध्ये हालसम्म १ करोड ४० लाख थान छपाई कार्य सम्पन्न भएको छ,’ प्रबन्ध निर्देशक पौडेलले भने,‘बाँकी ३० लाख थान पाठ्यपुस्तक फागुन मसान्तसम्म छापिन्छ।
हिमाली जिल्लामा छिटो सुरु हुने शैक्षिक सत्रका लागि पाठ्यपुस्तक तयारी अवस्थामा छ’ उनले थपे,‘४ करोड १६ लाख थान मतपत्र छपाईका लागि चार वटा मेसिन तयार छ। यसका लागि २ सय जनशक्ति पनि जनकले तयारी अवस्थमा राखेको छ भने स्टोर गर्ने गोदाम पनि तयारी अवस्था मै छ।’ प्रथम चरणमा समानुपातिक तर्फको २ करोड ८ लाख थान मतपत्र पुस २२ गतेदेखि माघ ९ गतेभित्र छपाई कार्य सक्नु पर्ने समहमति भएको उनले जनाए। ‘कालो र रातो दुई कलरको समानुपातितर्फको मतपत्र छपाई कार्य पुस २२ गतेदेखि सुरु हुन्छ,’प्रबन्धन निर्देशन पौडेलले भने,‘त्यसपछि प्रत्यक्ष तर्फको थप २ करोड ८ लाख थान छाप्ने कार्य सुरु हुन्छ।
मतपत्र, पाठ्यपुस्तक र एसईईको प्रश्नपत्र यी तीन वटै छपाई कार्य सरकार कै हुन्’ उनले माग गरे, ‘जनकमा ४५० कर्मचारी छन्। मेसिन पनि छ। तर मतपत्रले केहि समय लाग्ने भएकोले एसईईको प्रश्नपत्र छपाई कार्य तोकिएको समय अर्थात् फागुन पहिलो साता गर्न नसकिने देखियो।
एसईई बोर्डले यस विषयलाई ध्यानमा राखेर मात्र परीक्षाको तालिका सार्वजनिक गरिदिनु पर्छ। किन भने पाठ्यपुस्तक फागुन मासान्तसम्म छपाई हुनछ। पाठ्यपुस्तक र मतपत्र समानान्तर रुपमा छपाई कार्य अगाडि बढ्छ।’