काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष बन्नका लागि १३ जनाले आवेदन दिएका छन्। सरकारले बोर्डको अध्यक्ष नियुक्ति गर्न लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ।
समितिले अध्यक्षका लागि दरखास्त आह्वान गर्दा १३ जनाको आवेदन परेको समितिले जनाएको छ। अध्यक्ष बन्न आवेदन दिनेहरुमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, शिक्षा मन्त्रालयका पूर्वप्रशासक र बोर्डका पूर्व अधिकारीहरु रहेका छन्।
मोरङका जगतकृष्ण पोखरेल, दाङका राजेन्द्रकुमार पोखरेल, अर्घाखाँचीका बाबुराम खनाल, तनहुँका रामचन्द्र पाण्डे, बर्दघाट सुस्ता पश्चिमका दुर्गाप्रसाद अर्यालको दरखास्त परेको छ। त्यस्तै, गुल्मीका तुलसीराम भण्डारी, डडेलधुराका पुष्पराज जोशी, रौतहटका घनश्याम ठाकुर, ललितपुरका कृष्णप्रसाद आचार्य, अर्घाखाँचीका अच्युत ज्ञवाली, तनहुँका लक्ष्मीराम पौडेल, स्याङ्जाका भोजराज शर्मा काफ्ले र स्याङ्जाका राजेन्द्रप्रसाद चापागाईंको आवेदन परेको समितिले जनाएको छ।
अध्यक्ष महाश्रम शर्माको ४ वर्षे कार्यकाल सकिएपछि शिक्षा मन्त्रालयले नियुक्तिको प्रक्रिया थालेको हो। आवेदकहरुबाट संक्षिप्त सूची (सर्टलिस्ट) प्रकाशित गरी बाँकी प्रक्रिया अघि बढाउने समितिले जनाएको छ। समितिका पूर्वसचिव देवकुमारी गुरागाईं र त्रिविका प्राध्यापक रामेश्वर अधिकारी सदस्य रहेका छन्।
आवेदकहरुको अवधारणा पत्र, व्यावसायिक कार्ययोजना, त्यसको प्रस्तुतीकरण मूल्यांकनसहित अन्तर्वार्ताबाट नियुक्तिको सिफारिस गरिने समितिको भनाई छ। बोर्डले कक्षा १२ र एसईई परीक्षा सञ्चालन तथा व्यवस्थापनको काम गर्दै आएको छ।