काठमाडाैँ - पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले राज्यको लगानीअनुसार सामुदायिक विद्यालयको नतिजा राम्रो हुनुपर्ने बताएका छन्। नेपाल शिक्षक महासंघ, कास्कीको दोस्रो जिल्ला परिषद्को उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयमा राज्यको लगानी राम्रो भए पनि त्यस अनुसारको नतिजा हासिल हुन नसकेको बताएका छन्।
प्रशस्त लगानी भएर पनि सामुदायिक विद्यालयले सन्तोषजनक नतिजा दिन नसकेको अवस्थाप्रति शिक्षक महासंघले विशेष ध्यान दिनुपर्ने प्रमुख आचार्यले बताए। विद्यालयको प्रधानाध्यापकले असल नेतृत्व दिन सक्दा विद्यालयको गुणस्तर राम्रो हुने सोचले महानगरले प्रधानाध्यापकका लागि केही मात्रामा भए पनि प्रोत्साहन रकम प्रदान गर्ने गरेको उनको भनाइ थियो।
शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले स्थानीय तहले शिक्षकलाई पेल्यो भन्ने गुनासो गर्न छोडेर आफ्नो कर्तव्य पूरा गर्नेतर्फ केन्द्रित हुन शिक्षकहरूलाई आग्रह गरे। शिक्षक महासंघले कास्कीको शिक्षक दरबन्दी मिलानलगायतका शैक्षिक समस्या समाधानका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै उनले सबैले गर्ने गतिविधि विद्यार्थी केन्द्रित हुनुपर्नेमा जोड दिए।
नेपाल शिक्षक युनियन, कास्कीका संस्थापक अध्यक्ष दीपक पौडेलले कास्कीको शैक्षिक आन्दोलनको स्मरण गर्दै पेसागत हितका लागि सबै जना मिलेर लाग्नुपर्ने आवश्यकता औँल्याए। नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष राम पोखरेलले महासंघको आह्वानमा २९ दिनसम्म भएको शिक्षक आन्दोलनको उपलब्धि क्रमशः देखिने बताए।
नेपाल शिक्षक महासंघ, कास्कीका अध्यक्ष भोलानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ, कास्कीका सहअध्यक्ष डिल्लीराम बराल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कास्कीका अध्यक्ष तीर्थराज ढकाल, नेपाल शिक्षक महासंघ, कास्कीका सचिव तारानाथ भण्डारीलगायतले शिक्षक तथा कर्मचारीका हकहितका लागि महासंघले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए।
कार्यक्रमका अवसरमा कास्कीको शैक्षिक आन्दोलनमा विशेष योगदान गरेको भन्दै नेपाल शिक्षक युनियन, कास्कीका संस्थापक अध्यक्ष दीपक पौडेल, युनियनकै पूर्वअध्यक्ष जगन्नाथ अधिकारी, महासंघका केन्द्रीय उपाध्यक्ष राम पोखरेल, कास्कीका निवर्तनमान अध्यक्ष बोधराज पौडेल, निवर्तमान सचिव मनिराम कँडेल र रुद्रनाथ सापकोटालाई सम्मान गरिएको थियो।