काठमाडौँ - प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीले विश्वविद्यालयबाट आर्जन गरेको ज्ञान र सीप व्यक्तित्व विकास तथा राष्ट्रनिर्माणमा सदुपयोग गर्न आग्रह गरेकी छन्। नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘विश्वविद्यालयबाट आर्जन गरेको ज्ञान र सीप व्यक्तित्व विकास तथा राष्ट्रनिर्माणमा सदुपयोग गर्न आग्रह छ, सकेसम्म नेपालमै अवसर खोज्न, अवसर नभएका ठाउँमा नयाँ अवसर सिर्जना गर्न र जहाँ गए पनि देशले गर्व गर्न सक्ने नागरिक बन्न अनुरोध छ।’
काठमाडौँको भृकुटीमण्डपमा आइतबार सम्पन्न समारोहमा तीनवटा सङ्कायका ५४५ विद्यार्थी दीक्षित भएका छन्। कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पदक प्रदान गरिएको थियो। २०७३ सालमा स्थापना भएको नेपाल खुला विश्वविद्यालयको यो पहिलो दीक्षान्त समारोह हो समारोहका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा रहेका थिए।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति कार्कीले कुलपतिका हैसियतमा प्रथम दीक्षान्त समारोहमा सहभागी हुन पाउँदा खुशी व्यक्त गरिन्। उनले विभिन्न संकायअन्तर्गत दीक्षित भएका सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै विश्वविद्यालयलाई यहाँसम्म ल्याइपुर्याउन योगदान गर्ने पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले २०७४ सालदेखि सामाजिकशास्त्र तथा शिक्षा, व्यवस्थापन तथा कानुन र विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्कायअन्तर्गत स्नातकदेखि विद्यावारिधिसम्मका कार्यक्रम सञ्चालन गर्दै विश्वविद्यालय अघि बढिरहेको उल्लेख गरिन्।
नेपालभित्र मात्र नभई विदेशमा रहेका विद्यार्थीलाई पनि खुला तथा दूर सिकाइमार्फत सर्वसुलभ र गुणस्तरीय उच्च शिक्षाको पहुँच पुर्याउन विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।
छोटो समयमा नै नेपाल खुला विश्वविद्यालयले प्राज्ञिक क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्न सफल भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले आगामी दिनमा विश्वविद्यालयले समयसापेक्ष, रोजगारमूलक, उद्यमशीलतामुखी तथा अनुसन्धान र नवप्रवर्तनमा आधारित जनशक्ति उत्पादनमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

भौतिक रूपमा कक्षामा उपस्थित हुन नसक्ने दुर्गम स्थानका तथा विभिन्न काम–व्यवसायमा व्यस्त विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गर्न खुला विश्वविद्यालयको भूमिका अझ सशक्त बन्नुपर्ने उनकाे धारणा छ।
युवाहरूको बदलिँदो अपेक्षालाई ध्यानमा राख्दै प्रतिभा पलायन रोक्ने र ज्ञान तथा सीपलाई राष्ट्रनिर्माणमा उपयोग गर्ने चुनौती रहेको भन्दै त्यसमा उच्च शिक्षा प्रदायक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने उनकाे भनाइ छ।
प्रधानमन्त्री कार्कीले विश्वविद्यालय आन्तरिक रूपमा सबल भई बढीभन्दा बढी विद्यार्थीलाई शिक्षाको मूलधारमा समेट्नुपर्नेमा जोड दिइन्। विज्ञान तथा प्रविधिको तीव्र विकासलाई आत्मसात् गर्दै विश्वव्यापी र रैथाने ज्ञान समेटेर शिक्षण–सिकाइ प्रक्रिया सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।