काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताएका छन्। बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२ औँवार्षिकोत्सवमा उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म टेलिकमले सञ्चारको पहुँच विस्तार गर्दै आएको बताएका हुन्। प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थाहरूमा टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय रहेको गृहमन्त्री अर्यालको भनाइ छ।
‘नेपाल टेलिकम एक केवल दूरसञ्चार कम्पनी मात्रै होइन, यो राज्यको डिजिटल मेरुदण्ड हो। दुर्गम हिमालदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच पुर्याएर यस संस्थाले राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापलाई मजबुत बनाउँदै आएको छ। प्राकृतिक विपद्, महामारी वा अन्य आपतकालिन अवस्थामा नेपाल टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय रहेको छ,’ उनले भने।
हाल दूरसञ्चार सेवा व्यवसाय मात्र नभई मानव जीवनको आधारभुत आवश्यकता तथा शैक्षिक, सामाजिक र आर्थिक विकासको महत्त्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भइसकेको उनले बताए। नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक र अधिकार भएको भन्दै उनले त्यसतर्फ कम्पनीले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे।
‘समाजको विकासको लागि दूरसञ्चार सेवा अत्यन्त आवश्यक भएको पृष्ठभुमीमा नवीनतम् प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक र अधिकार भएकोले कम्पनीले यसमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। सन्तुष्ट ग्राहक नै कम्पनीको दीगो विकास र स्थायित्वको आधार स्तम्भ हुन भन्ने विषयलाई आत्मसाथ गर्दै कम्पनीले आगामी दिनमा समेत नयाँ नयाँ प्रविधिमा आधारित अत्याधुनिक सेवा प्रवाह गरी ग्राहक सन्तुष्टीलाई केन्द्रमा राखी सेवा प्रवाह गर्नेछ भन्नेमा विश्वस्त रहेको छु,’ गृहमन्त्री अर्यालले भने।
समारोहमा वक्ताहरूले डिजिटल नेपाल अभियानलाई सशक्त बनाउन नेपाल टेलिकमले खेलेको भूमिकाको प्रशंसा गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रमा सञ्चार सेवा विस्तारमा थप जोड दिनुपर्ने बताएका छन्। उनीहरूले गुणस्तरीय, सुरक्षित र सुलभ दूरसञ्चार सेवा प्रदान गर्दै संस्थाले ग्राहक–केन्द्रित सेवामा निरन्तरता दिएको उल्लेख गरे।
नेपाल टेलिकमका अधिकारीहरूले आगामी दिनमा नयाँ प्रविधि अवलम्बन गर्दै मोबाइल, इन्टरनेट, फाइबर सेवा, क्लाउड र डिजिटल सेवाको दायरा विस्तार गर्ने योजना रहेको जानकारी गराए। साथै, ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै सेवा सुधार र नवप्रवर्तनलाई निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरियो।
वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी, विक्रेता तथा साझेदारलाई सम्मान गरिएको थियो भने सांस्कृतिक कार्यक्रममार्फत समारोहलाई थप आकर्षक बनाइएको थियो।