काठमाडौँ- माध्यामिक शिक्षा परीक्षा कक्षा १० एसईईका लागि विद्यार्थीहरू अन्तिम तयारीमा जुटेका छन्।
५ लाख ९ हजार विद्यार्थी सहभागी हुने परीक्षामा विद्यालयमा अतिरिक्त कक्षा लिएर होस् वा घर र तथा साथीभाईसँग समूहमा बसेर उनीहरूले उत्कृष्ट नतिजा ल्याउन दिनरात कठोर मेहनत गरिरहेका छन्। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि उत्तरपुस्तिका र प्रश्नपत्र जिल्ला जिल्लामा पठाइरहेको छ।
भक्तपुरको आर्दश माध्यामिक विद्यालयकी छात्रा युजिन गोलेले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन दिनरात मेहनत गरिरहेकी छिन्। बिहान साढे ६ देखि बेलुका ९ बजेसम्म विद्यालयमा अतिरिक्त कक्षाका साथ घरमा पनि पुराना र सम्भावित प्रश्नपत्रहरूको हल गर्ने तरिका सिक्दै पढिरहेकी छन्।
युजिनजस्ता यस विद्यालयका १ सय ४५ जना विद्यार्थी यसरी नै एसईई परीक्षाका लागि तयारीमा जुटेका छन्। परीक्षा नजिकिएसँगै विद्यार्थीहरूमा राम्रो नतिजाका लागि दबाब बढ्दै गएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका ५ लाख ९ हजार ९ सय ६१ जना विद्यार्थी आ-आफ्नै तरिकाले परीक्षाको तयारीमा जुटेका छन्।
विद्यार्थीहरूले परीक्षामा राम्रो नतिजाका लागि घर, साथीभाइ र ट्युसन पढेर मेहनत गरिरहेका छन्। धेरैजसो विद्यार्थीहरूले बिहान बेलुका गरी १२ घन्टा भन्दाबढी समय दिएर परीक्षाका लागि रातदिन लागिपरेका छन्। विद्यालयका शिक्षकहरूले समेत गणित, विज्ञान र अंग्रेजीमा कमजोर भएका विद्यार्थीलाई प्राथमिकतामा राखेर पुराना र सम्भावित प्रश्नहरूमार्फत अभ्यास गराइरहेका छन्।
चैत १९ गतेदेखि सुरू हुने एसईईका परीक्षामा ४ लाख ४६ हजार ४ सय ७६ नियमित र ६३ हजार ४ सय ८५ ग्रेड वृद्धि गरि ५ लाख ९ हजार ९ सय ६१ जना परीक्षार्थीहरू सहभागी हुनेछन्। साधारण धार, प्राविधिक र संस्कृतिका गरी १ सय २८ विषयको परीक्षाको प्रश्नपत्र छपाइ गरी सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरूमा पुर्याइसकेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
जनक शिक्षाको सेकुरेटी प्रेसमा कडा सुरक्षाको घेरामा काम भइरहेको र मधेश र बागमती प्रदेशका जिल्लाहरूमा ९ गतेसम्ममा पुर्याइसक्ने उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए। ती प्रस्नपत्रहरू सुरक्षाका दृष्टिकोणले सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूमा राख्ने चलन छ। विद्यार्थीलाई राम्रो नतिजाका लागि दबाबभन्दा पनि पढ्ने वातावरणमा सहजीकरण गर्नु शिक्षक अभिभावकको दायित्व हो ।