काठमाडौँ - राष्ट्रिय परिक्षा बोर्डले चैत १९ देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईका क्रममा परीक्षा केन्द्रमा गरिने सामूहिक अनुगमनमा रोक लगाएको छ। परीक्षा केन्द्रमा विभिन्न संघ–संगठनका प्रतिनिधि समूहमा प्रवेश गर्दा परीक्षार्थीको लेखन कार्यमा अवरोध पुग्ने र त्रासको वातावरण सिर्जना हुने देखिएपछि यस्तो निर्णय गरिएको बोर्डका उपनियन्त्रक विषणु ज्ञवालीले जानकारी दिए।
उनका अनुसार अब प्रत्येक जिल्लामा जिल्ला प्रमुखको संयोजकत्वमा गठन हुने जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले परीक्षा केन्द्रको बाहिरबाट मात्र अनुगमन गर्न पाउनेछन्। परीक्षा हलभित्र भने केन्द्राध्यक्ष र सो दिन खटिएका सम्बन्धित प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको छ। पत्रकारलाई पनि परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायांकन गर्न अनुमति दिइएको छ।
परीक्षा हलभित्रको दृश्य छायांकन गरी सामाजिक सञ्जालमा राख्दा अनावश्यक त्रास फैलिन सक्ने भन्दै बोर्डले त्यस्तो कार्य नगर्न आग्रह गरेको छ।
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा कुल ५ लाख ९ हजार ९६१ परीक्षार्थी सहभागी हुनेछन्। जसमध्ये नियमिततर्फ ४ लाख ४६ हजार ५७६ र ग्रेडवृद्धितर्फ ६३ हजार ४८५ परीक्षार्थी रहेका छन्। देशभर १ हजार ९ सय ९१ परीक्षा केन्द्रबाट ११ हजार ३ सय ७९ माध्यमिक विद्यालयका विद्यार्थी सहभागी हुनेछन्।
परीक्षा नियन्त्रण कार्यालयले सातै प्रदेशका लागि प्रश्नपत्र छपाइ कार्य सम्पन्न गरी ढुवानी प्रक्रिया सुरु गरिसकेको जनाएको छ। प्रदेशअनुसार प्रश्नपत्रको कठिनाइ समान रहने भए पनि प्रश्नहरू फरक–फरक सेटमा तयार गरिएको छ। यदि कुनै प्रदेशमा प्रश्नपत्र चुहावट भएमा सम्बन्धित प्रदेशका लागि मात्र पुनः छपाइ गर्न सकिने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
हालसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा प्रश्नपत्र ढुवानी भइसकेको छ भने मधेस र बागमती प्रदेशका लागि छपाइ कार्य सम्पन्न भई ढुवानीको तयारी भइरहेको छ। प्रश्नपत्रहरू प्रहरीको निगरानीमा सुरक्षित रूपमा भण्डारण गरिएको छ।
छात्रा संख्या बढीः यस वर्षको एसइई परीक्षामा छात्राको संख्या छात्रभन्दा बढी रहेको छ। कुल परीक्षार्थीमध्ये २ लाख ५२ हजार ४३४ छात्र र २ लाख ५७ हजार ५२७ छात्रा सहभागी हुनेछन्। उपनियन्त्रक ज्ञवालीका अनुसार एसइईसम्म आइपुग्दा धेरै छात्र रोजगारीका लागि बाहिरिने वा पढाइ छाड्ने प्रवृत्ति देखिन्छ। साथै, पछिल्लो समय बालविवाहप्रति बढ्दो सचेतनाका कारण अभिभावकले छोरीलाई पढाउन थालेकाले पनि छात्राको संख्या बढेको उनले बताए।