काठमाडाैँ- बाँकेमा यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थी घटेका छन्। यस वर्ष बाँकेबाट नौ हजार ६१५ जना विद्यार्थीले एसईई दिन लागेका हुन्।
गत वर्ष बाँकेबाट १० हजार ४१६ जना विद्यार्थीले एसईई दिएका थिए। यस वर्ष गत वर्षभन्दा ८०१ जना कम विद्यार्थीले एसईई दिँदैछन्। आगामी चैत १९ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा बाँके जिल्लाका विभिन्न आठ वटा पालिकाका २७ सामुदायिक र नौ संस्थागत गरी ३६ परीक्षा केन्द्रबाट सात हजार ९१३ नियमित र एक हजार ७०२ ग्रेड वृद्धि गरी जम्मा नौ हजार ६१५ जना विद्यार्थीले एसईई दिन लागेको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईँले जानकारी दिए।
एकाइ प्रमुख चौलागाईँका अनुसार दुई मदरसासहित १०५ सामुदायिक विद्यालय र १०६ संस्थागत गरी २११ विद्यालयका चार हजार ६७५ छात्रा र चार हजार ९४० छात्रले एसईई दिने भएका हुन्।
उनका अनुसार १० वटा सामुदायिक विद्यालयका २७० नियमित र ५४ ग्रेड वृद्धि गरी ३२४ जना प्राविधिकधारका विद्यार्थी पनि सहभागी हुने छन्। जसमध्ये सामुदायिक १०५ विद्यालयका तीन हजार ३०२ छात्रा र तीन हजार ८३ छात्र गरी छ हजार ३८५ विद्यार्थी र संस्थागत १०६ विद्यालयका एक हजार ३७३ छात्रा र एक हजार ८५७ छात्र गरी तीन हजार २३० विद्यार्थी रहेका छन्।
यस वर्ष सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा ११, कोहलपुर नगरपालिकामा १०, राप्तीसोनारी गाउँपालिकामा चार, बैजनाथमा चार, खजुरामा चार र नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा एकएक गरी ३६ परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका शाखा अधिकृत घनश्यामबहादुर मुरावले जानकारी दिए।
उनका अनुसार नेपालगन्जमा सात सामुदायिक र चार संस्थागत, कोहलपुरमा पाँच सामुदायिक र पाँच संस्थागत र अन्य सबै पालिकामा सामुदायिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ।
शाखा अधिकृत मुरावका अनुसार कुल ३६ परीक्षा केन्द्रमध्ये नेपालगन्ज उपमहानगरपालिकाको नेपालगन्जस्थित महेन्द्र मावि परीक्षा केन्द्रबाट सबैभन्दा धेरै ३७५ जना विद्यार्थी र राप्तीसोनारी गाउँपालिका शमसेरगन्जस्थित शिवशक्ति मावि परीक्षा केन्द्रबाट सबैभन्दा कम १६२ जना विद्यार्थीले यस वर्षको एसईई दिन लागेका छन्।
४१ जना कैदीबन्दी र बालबिज्याइँकर्ताले एसईई दिँदै
बाँकेमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयबाहेक पनि ४१ जना विद्यार्थीले एसईई दिन लागेका छन्।जिल्लामा रहेका दुई वटा बालसुधार गृहका ३३ जना बालबिज्याइँकर्ता र दुई वटा कारागारमा रहेका आठ जना कैदीबन्दीले पनि यस वर्ष एसईई दिन लागेका हुन्। डुडुवा गाउँपालिका वडा नम्बर ६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका ३० जना बालबिज्याइँकर्ताले एसईई दिन लागेको सुधार गृह कार्यालयका प्रमुख ईश्वर शर्माले जानकारी दिए।
त्यसैगरी, बैजनाथ गाउँपालिका-३, नौ बस्तास्थित नौ बस्ता बालसुधार गृहका ३ जना बालबिज्याइँकर्ताले एसईई दिन लागेको सुधार गृह कार्यालयका प्रमुख श्याम रानाले जानकारी दिए।
त्यसैगरी नेपालगन्जस्थित नेपालगन्ज कारागारमा रहेका चार जना कैदीबन्दीले एसईई दिन लागेका कारागार प्रमुख प्रकाश ढुङ्गनाले जानकारी दिए। त्यसैगरी बैजनाथस्थित नौ बस्ता कारागारमा रहेका चार जना कैदीबन्दीले पनि एसईई दिन लागेका निमित्त कारागार प्रशासक ज्ञानबहादुर वलीले जानकारी दिए।
कारागारमा रहेका कैदीबन्दी र बालसुधार गृहमा रहेका बालबिज्याइँकर्ताहरूलाई त्यहाँबाट नजिकको परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्थापन गरिएको समन्वय एकाइ प्रमुख चौलागाईँले जानकारी दिए।
बाँकेमा पछिल्ला तीन वर्षमा लगातर वृद्धि हुँदै गएको एसईई परीक्षा दिने विद्यार्थीको सङ्ख्या यस वर्ष घटेको हो। यसअघि २०७९ सालमा आठ हजार ८८६ जना, २०८० सालमा नौ हजार २९३ जना र २०८१ सालमा १० हजार ४१६ जना विद्यार्थीले जिल्लाबाट एसईई दिएका थिए।