काठमाडौं- शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार राष्ट्रिय खेलकुद परिषद्को निरीक्षण गरेका छन्।
त्रिपुरेश्वर स्थित दशरथ रंङशालामा रहेको परिषद् पुगि मन्त्री पोखरेलले नेपालको खेलकुद क्षेत्रको विकासका लागि खेलकुदलाई विद्यालयको पाठ्यक्रममै समावेश गर्ने योजना अघि सारेका छन्।
मन्त्री पोखरेलले विद्यालयको पाठ्यक्रममै खेलकुदलाई जोड्ने योजना सुनाएका हुन्। विद्यालयको पाठ्यक्रममा खेलकुदलाई जोडन हामीलाई कसैले रोक्दैन,’उनले भने।
हामी नीति निर्माणकै तहमा छौँ। पाठ्यक्रम विकास केन्द्रसँग मिलेर यसलाई अघि बढाउछौँ, उनले भने। मन्त्री पोखरेलले अबको ५ वर्षमा ग्रासरुटबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको समेत बताए।
मन्त्री पोखरेलले नेपालको खेलकुद क्षेत्रमा अहिले देखिएको मुख्य समस्या सानो उमेरबाटै खेलाडी उत्पादन हुन नसक्नु रहेको औंल्याए।
‘अहिले नेपालको खेलकुद इन्डस्ट्री हेर्ने हो भने धेरैजसो खेलाडीहरू नेपाल प्रहरी, सेना र एपीएफबाट आएका छन् किनभने त्यहाँ डाइट, ट्रेनिङ र नियमित आम्दानीको सुनिश्चितता छ,’ मन्त्री पोखरेलले भने, ‘तर १८ वर्ष पुगेपछि मात्र ती निकायमा जान पाइन्छ।
हामीले त्यही स्तरको डाइट र ट्रेनिङ सानो उमेरदेखि नै दिन सक्यौँ भने खेलकुदको विकास अझै तीव्र गतिमा हुन्छ।’
आफूलाई मन्त्री वा अध्यक्ष भन्दा पनि एक ‘टिम मेम्बर’ को रूपमा मात्र हेर्न आग्रह गर्दै पोखरेलले सबै विज्ञ र कर्मचारीहरूलाई पूर्वाग्रह त्यागेर एकजुट हुन पनि आह्वान गरे।