काठमाडौँ- काठमाडौँ महानगरपालिका अन्तर्गतका विद्यालयहरूमा यस वर्ष आधारभूत तहको परीक्षामा ग्रेडेड हुने विद्यार्थीको संख्या उल्लेख्य रूपमा बढेको छ। गएको वर्ष ७२.७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए भने यस वर्ष ८१.२ प्रतिशत पुगेका छन्, जुन ८.५ प्रतिशतको वृद्धि हो।
काठमाडौँ महानगरपालिकाको आधारभूत तह परीक्षा समितिले आज प्रकाशित गरेको नतिजाअनुसार यस वर्ष कुल १४ हजार ७२८ विद्यार्थी (८१.२%) ग्रेडेड भएका छन्। तीमध्ये ८ हजार ९२ जना छात्र र ६ हजार ६३६ जना छात्रा रहेका छन्।
सामुदायिक विद्यालयतर्फ अझ सकारात्मक सुधार देखिएको छ। गएको वर्ष ५१.८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए भने यस वर्ष ६२.३५ प्रतिशत पुगेका छन्, अर्थात् १०.५५ प्रतिशतको वृद्धि भएको हो। सामुदायिक विद्यालयबाट २ हजार ८५३ विद्यार्थी (१,५०३ छात्र र १,३५० छात्रा) ग्रेडेड भएका छन् भने निजी तथा संस्थागत विद्यालयबाट ११ हजार ८७५ विद्यार्थी (६,५८९ छात्र र ५,२८६ छात्रा) ग्रेडेड भएका छन्।
परीक्षामा सहभागी हुन ४९४ विद्यालयका १९ हजार ११७ विद्यार्थीले फाराम भरेका थिए। जसमध्ये ९३८ जना अनुपस्थित रहे। फाराम भर्ने विद्यार्थीमध्ये १० हजार ७४५ छात्र र ८ हजार ३७२ छात्रा रहेका थिए।
विद्यालयको प्रकृतिअनुसार ७७ सामुदायिक विद्यालय (२ कारागार र १ विशेषसहित) बाट ४,६१४ विद्यार्थी, २० वैकल्पिक विद्यालयबाट ८३७ विद्यार्थी, ६ धार्मिक विद्यालयबाट ७० विद्यार्थी र ३९१ संस्थागत विद्यालयबाट १३,५९६ विद्यार्थी सहभागी भएका थिए।
यस वर्ष ३ हजार ४५१ विद्यार्थी ननग्रेडेड भएका छन्। जसमध्ये २,०५४ छात्र (२०.२४%) र १,३९७ छात्रा (१७.३९%) रहेका छन्।
समितिका अध्यक्ष तथा शिक्षा अधिकारी नमराज ढकालको अध्यक्षतामा बसेको बैठकले परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको हो। विद्यालयहरूले इमिस प्रणालीमार्फत ‘म्यानेज एक्ज्याम’ मा गएर ग्रेड–वाइज लेजरबाट नतिजा हेर्न सक्ने व्यवस्था गरिएको छ।