काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कुल २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको जनाएका छन्।
आइतबार प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मन्त्री पोखरेलले यसमा करोडौँ मूल्यका घरजग्गा, सुनचाँदी, सवारी साधन, बैंक मौज्दात र विभिन्न कम्पनीका सेयर लगानी समावेश छन्।
सार्वजनिक बिवरण अनुसार मन्त्री पोखरेल र उनको परिवारका नाममा काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा रहेको छ। सार्वजनिक गरिएको विवरणअनुसार, मन्त्री पोखरेलको व्यक्तिगत नाममा काठमाडौँमा तीन आना क्षेत्रफलमा बनेको अढाई तले घर रहेको छ, जसको मूल्य ४ करोड रुपैयाँ उल्लेख गरिएको छ।
यस्तै, काठमाडौँकै मूलपानीमा ६ आना जग्गा रहेको छ, जसको मूल्य ५ करोड रुपैयाँ तोकिएको छ। मोरङमा १ कठ्ठा जग्गा पनि उनको नाममा उल्लेख छ, जसको मूल्य १ करोड रुपैयाँ उल्लेख छ ।
उनले सार्वजनिक गरेको सम्पत्ति बिवरणमा २५ तोला सुन, १०० तोला चाँदी र बैंक खातामा ४ लाख ४७ हजार ९९४ रूपैयाँ मौज्दात छ। बुवा रमेशकुमार पोखरेलसहितका सदस्यहरूको नाममा करिब ३० लाख बराबरको सेयरमा लगानी छ। बुवा रमेशकुमारको राष्ट्रिय बचत पत्रमा ९६ लाख ९० हजार रूपैयाँ बराबर छ। बुबा राष्ट्र बैंकबाट निवृत्त हुँदा पाएको रकमलाई उनले यसको स्रोतको रूपमा देखाएका छन्।
आमा मीनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचत पत्रमा ५० लाख रूपैयाँ बराबरको सेयर छ। मन्त्री पोखरेलले आफ्नो र आमा मिनाक्षीको नाममा ७५ लाख ऋण रहेको विवरण बुझाएका छन्। हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माच्छापुच्छ्रे बैंकमा आमाको नाममा ५० लाख कर्जा रहेको उल्लेख छ।
बुवा र आफ्नो नाममा दुईवटा सवारी साधन रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।