धनगढी - धनगढी उपमहानगरपालिकाले कक्षा ८ को आधारभूत तह परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई ब्यान्ड बाजा र उत्सवसहित भव्य सम्मान गरेको छ। शैक्षिक गुणस्तर सुधारमा उल्लेख्य उपलब्धि हासिल गर्ने २५ वटा विद्यालयहरूलाई सोमबार एक विशेष समारोहका बीच सम्मान तथा पुरस्कृत गरिएको हो। तीमध्ये १० वटा सामुदायिक विद्यालय र १५ वटा संस्थागत विद्यालय रहेका छन्।
सामुदायिक विद्यालयतर्फ वेहडाबावा मावि, शारदा मावि, सिद्धार्थ मावि, सर्वोदय मावि, इन्द्रोदय मावि, पञ्चोदय मावि लगायतका विद्यालयहरू सम्मानित भएका छन्। यस्तै जनप्रिय मावि, ठेकराज मावि र चन्द्रोदय मावि पनि सूचीमा समावेश छन्। त्यसैगरी संस्थागत विद्यालयतर्फ सिद्धार्थ विद्या मन्दिर, मयूर ई.बो., गुरुकुल ई.बो., जेसिज एभरेस्ट, ग्लोबल मोडर्न पब्लिक स्कुल, पञ्चकोटी विद्या निकेतन, नन्दिनाज एकेडेमी, अपि विद्या निकेतन लगायतका विद्यालयहरूलाई सम्मान गरिएको हो।
नगरपालिकाले परम्परागत शैलीभन्दा फरक ढङ्गले ब्यान्ड बाजासहित सार्वजनिक रूपमा सम्मान गर्दा विद्यालय, शिक्षक र विद्यार्थीहरूमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना बढेको जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गोपाल हमालले यस्तो कार्यक्रमले विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाउने र शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
प्रधानाध्यापकहरूले उपमहानगरपालिकाको यो कदमले आफूहरूलाई थप जिम्मेवार बनाएको र आगामी शैक्षिक सत्रमा अझ उत्कृष्ट नतिजा ल्याउन प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।
धनगढी उपमहानगरपालिकाले पछिल्लो समय शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयहरूको भौतिक तथा गुणस्तरीय सुधारमा निरन्तर जोड दिँदै आएको छ।