गोरखा- अजिरकोट गाउँपालिका–३ स्थित जीवनज्योति माध्यमिक विद्यालयमा सञ्चालित ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरू सामूहिक रूपमा धान काट्न खेतमा जुटेका छन्।
विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावहारिक सीप, श्रमको महत्त्व र उत्पादनमूलक कामको अनुभव प्रदान गर्ने उद्देश्यले विद्यालयले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रमअन्तर्गत विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरू एकैसाथ खेतमा पुगेर धान कटाइमा सहभागी भएका हुन्। यसले विद्यार्थीलाई कृषि कार्यको प्रत्यक्ष अनुभव लिनुका साथै श्रमप्रतिको सम्मान र सामूहिक कार्यको भावना विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
अजिरकोट गाउँपालिकाको संयोजन तथा सिकोडर नेपालको आर्थिक सहयोगमा उक्त कार्यक्रम विगत तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको छ।
कार्यक्रमले विद्यार्थीलाई विद्यालयको कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने अवसर प्रदान गरेको छ। विशेषगरी कृषि तथा उत्पादनमूलक गतिविधिमा विद्यार्थीको सहभागिता बढाउँदै उनीहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने लक्ष्य कार्यक्रमले राखेको छ।
अजिरकोट गाउँपालिका–३ का वडाध्यक्ष बाबुराम अधिकारीले यस्ता कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारमै काम गरेर सिक्ने अवसर प्रदान गरेको बताए।
उनका अनुसार पढाइसँगै श्रम र उत्पादनमूलक गतिविधिमा सहभागी हुँदा विद्यार्थीमा श्रमप्रतिको सम्मान, आत्मनिर्भरता र व्यावहारिक सीपको विकास हुन्छ।
विद्यालय शिक्षालाई जीवनोपयोगी बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘पढ्दै कमाउँदै’ कार्यक्रमले विद्यार्थीलाई कृषि, उत्पादन र उद्यमशीलतासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
शिक्षा र श्रमलाई जोड्ने प्रयास
‘पढ्दै कमाउँदै’ कार्यक्रमले विद्यालय शिक्षालाई व्यवहारसँग जोड्दै विद्यार्थीलाई श्रमको महत्त्व बुझाउने अभ्यास गरेको छ। यस्ता कार्यक्रमको निरन्तरताले विद्यार्थीमा सीप विकास, उत्पादनप्रतिको रुचि र भविष्यमा स्वरोजगार बन्ने सोच विकास गर्न सहयोग पुग्न सक्छ।