खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२, जालपास्थित श्री जालपा माध्यमिक विद्यालयले बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि सञ्चालित देउसी कार्यक्रमबाट झण्डै २७ लाख रुपैयाँ सङ्कलन गरेको छ।
विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासलाई थप व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको देउसी कार्यक्रममार्फत उल्लेख्य आर्थिक सहयोग जुटेको हो।
विद्यालयमा बहुउद्देश्यीय कभर्ड हल निर्माण भएपछि विद्यार्थीलाई खेलकुद गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। साथै, विद्यालयस्तरीय खेलकुद प्रतियोगिता, अतिरिक्त क्रियाकलाप, सभा, समारोह तथा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्न पनि सहयोग पुग्ने विश्वास गरिएको छ।
स्थानीय समुदाय, अभिभावक, पूर्वविद्यार्थी, समाजसेवी तथा विभिन्न सहयोगी मनहरूको साथ र सहयोगबाट देउसी कार्यक्रम सफल भएको विद्यालयले जनाएको छ।
विद्यालयको पूर्वाधार विकासका लागि समुदायस्तरबाटै यति ठूलो रकम सङ्कलन हुनु शैक्षिक विकासप्रतिको स्थानीयको चासो, अपनत्व र सामूहिक प्रतिबद्धताको उदाहरणका रूपमा हेरिएको छ।
बहुउद्देश्यीय कभर्ड हल निर्माण सम्पन्न भएपछि विद्यार्थीको खेलकुद प्रतिभा प्रस्फुटन, शारीरिक तथा मानसिक विकास र विद्यालयको समग्र शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
विद्यालयले सहयोग गर्ने सम्पूर्ण दाता, अभिभावक, स्थानीयवासी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।