सिन्धुली - यस वर्ष सिन्धुली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु हुनु अघि नै पाठ्यपुस्तक विद्यालयहरूमा पुगेका छन्, जसले विद्यार्थी र शिक्षक दुवैलाई उत्साहित बनाएको छ। जनक शिक्षा सामग्री केन्द्रको बिक्री केन्द्र (डिपो) मार्फत ल्याइएका पाठ्यपुस्तकहरू सम्बन्धित विद्यालयहरूले धमाधम उठाइरहेका छन्। कमलामाई नगरपालिका–१३ स्थित प्रभात मावि रानीबासका प्रधानाध्यापक अरुणकुमार थिङले विद्यालयका लागि आवश्यक सम्पूर्ण पाठ्यपुस्तक ल्याइसकिएको जानकारी दिए।
उनका अनुसार वैशाख १५ गतेदेखि भर्ना अभियान सुरु गरिनेछ भने वैशाख २१ गतेबाट नियमित पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको छ। भर्ना अभियानकै क्रममा विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने योजना रहेको उनले बताए।
यस्तै, कमलामाई नगरपालिका–४ स्थित कमला मावि ढुङ्ग्रेबासमा पनि विद्यार्थीलाई पाठ्यपुस्तक वितरण कार्य तीव्र रूपमा भइरहेको छ। प्रधानाध्यापक कमलेस चौधरीका अनुसार विद्यालयमा पुस्तक ल्याइसकिएको छ र सम्पर्कमा आएका विद्यार्थीलाई तत्काल वितरण भइरहेको छ।
समयमै पाठ्यपुस्तक उपलब्ध हुँदा पठनपाठनमा सहजता आउने विश्वास गरिएको छ। विगतमा शैक्षिक सत्र सुरु भइसकेपछि पनि विद्यार्थीले किताब नपाउने समस्या देखिए पनि यस वर्ष त्यो समस्या हटेको विद्यालयहरूले जनाएका छन्।
शिक्षा विकास तथा समन्वय इकाईका अनुसार जिल्लामा ५३४ वटा सामुदायिक विद्यालय रहेका छन्। सरकारले देशभर नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरिसकेको छ। जिल्लामा सात वटा पुस्तक पसल तथा स्टेशनरीमार्फत सामुदायिक विद्यालयहरूलाई पाठ्यपुस्तक वितरण भइरहेको छ। सिन्धुलीमाढीस्थित तिमल्सिना बुक्स एण्ड जनरल सप्लायर्सका सञ्चालक कमला तिमल्सिनाले करिब १३० वटा विद्यालयमा पुस्तक आपूर्ति गरिसकेको जानकारी दिनुभयो। केही विद्यालयले मात्र पुस्तक लिन बाँकी रहेको र ती पनि चाँडै लाने उनले बताए।
यस वर्ष कक्षा १ देखि १० सम्मका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पर्याप्त मात्रामा पाठ्यपुस्तक उपलब्ध गराइएको छ। सरकारले यी कक्षाका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै आएको छ।