काठमाडौँ- शिक्षा पत्रकार समूहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई शिक्षा सुधार्न र शिक्षा सञ्चारका विषयमा ध्यानाकर्षण गराउँदै विभिन्न सुझाबहरु बुझाएको छ।
समूहका अध्यक्ष निर्जला कक्षपतिको नेतृत्वमा शिक्षा पत्रकारहरुको टोलीले शुक्रबार मन्त्री पोखरेललाई सिंहदरवारस्थित मन्त्रालयमै भेटगरि सुझाब–पत्र पेश गरेको हो।समूहले अघिल्लो संसदमा थाती रहेको विद्यालय शिक्षा विधेयकलाई परिमार्जन गरी नयाँ संसदको आउँदो बजेट अधिवेशनबाटै पारित गर्नुपर्ने आफ्नो सुझाब–पत्रको पहिलो बुँदामा सुझाएको छ।
समूहले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले सुझाएकामध्ये गर्न सकिने मुख्य–मुख्य सुझाब अध्ययन गरी अल्पकालीन र दीर्घकालीन ‘कार्यान्वयन सूची’ सार्वजनिक गर्न पनि मन्त्री पोखरेललाई सुझाब दिएको छ ।
समूहले विद्यालय नक्साङ्कन तुरुन्त थाल्न पनि सुझाब दिएको छ।सुझाब–पत्रमा भनिएको छ, ‘झण्डै दुई दशकदेखि गरिने भनिएको तर अहिलेसम्म नगरिएको विद्यालय नक्साङ्कन तुरुन्त थाल्नु पर्छ।विषयगत शिक्षक नपुगेका विद्यालयमा तुरुन्त व्यवस्था गर्नुपर्ने समूहले उल्लेख गरेको छ ।
सुझाब– पत्रमा शिक्षामा लगानी बढाउनुपर्ने बताउँदै राष्ट्रिय कूल बजेटको कम्तिमा २० प्रतिशत शिक्षामा विनियोजन गर्नुपर्ने धारणा राखिएको छ।
साथै, सरकारले सञ्चालन गरिरहेको दश वर्षे (सन् २०२२–२०३२) विद्यालय शिक्षा क्षेत्र योजना (एसइएसपी)को कार्यान्वयन प्रभावकारिताको पुनः समीक्षा गरिनुपर्ने सुझाब दिइएको छ। समूहले शिक्षा तथा सञ्चारक्षेत्रका लागि पनि सुझाब दिँदै ‘शिक्षाको सञ्चार रणनीति’ परिमार्जन गरी कार्यान्वयन गर्नुपर्ने माग पनि गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा पत्रकार समूहको प्राविधिक सहयोगमा २०६५ सालमा ‘शिक्षाको सञ्चार रणनीति’ बनाएको तर कार्यान्वयन नभई अलपत्र अवस्थामा रहेको छ। त्यसलाई बदलिँदो समयलाई सम्बोधन गर्नेगरी समूहसँगको साझेदारीमा परिमार्जन गरी कार्यान्वयन गर्न मन्त्री पोखरेललाई सुझाब दिइएको छ।
साथै, विद्यालयहरुमा सञ्चार र आमसञ्चारसम्बन्धी आधारभूत शिक्षण सिकाइ अभ्यासलाई अनिवार्य रुपमा लागू गर्नुपर्ने, समूहको दिगो अस्तित्वका लागि नेपाल सरकारबाटै रातो किताबमा वार्षिक बजेटको व्यवस्था गरिनुपर्ने, शिक्षाक्षेत्रको मुद्दालाई बलियो बनाउन ‘खोजमूलक शिक्षा पत्रकारिता फेलोसिप’ स्थापना हुुनुपर्ने गरिनु पर्ने र वर्षमा एउटा एजुकेशन मिडिया रिसर्च हुनुपर्ने सुझाब–पत्रमा उल्लेख गरिएका छन्।
समूहको सुझाब–पत्र बुझ्दै मन्त्री पोखरेलले आफूले सबै सुझाब अध्ययन गरी कार्यान्वयन प्रक्रिया बढाउने वचन दिए। उनले शिक्षाका लागि सञ्चार रणनीतिबारे पनि अध्ययन गरी छिट्टै यस विषयमा शिक्षा पत्रकार समूहसँग छलफल गरी कार्यान्वयन गरिने बताए। उनले सरकारका कमजोरीलाई आलोचना गरी औंल्याउँन र राम्रा कामलाई सघाउन शिक्षा पत्रकारहरुलाई आग्रह गरे।
समूहसँग शिक्षाका मुद्दामा आगामी दिनमा सहकार्य गरेर जाने पनि मन्त्री पोखरेलले प्रतिबद्धता जनाए।