चितवन - भरतपुर महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था चिन्ताजनक देखिएको छ। हालै सार्वजनिक कक्षा ८ को नतिजाले सामुदायिक विद्यालयतर्फ उल्लेखनीय सुधार हुन नसकेको स्पष्ट पारेको हो।
महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख सुवाष आचार्यका अनुसार सामुदायिक विद्यालयतर्फ उत्तीर्ण प्रतिशत मात्र ३९ दशमलव ०१ रहेको छ। तुलनात्मक रूपमा निजी विद्यालयको उत्तीर्ण दर ७० दशमलव ३२ प्रतिशत पुगेको छ भने समग्र उत्तीर्ण प्रतिशत ५६ दशमलव ८१ कायम भएको छ।
अघिल्लो वर्षको तुलनामा समग्र नतिजा करिब ६ प्रतिशतले घटेको छ। सामुदायिक विद्यालयतर्फ मात्र ३ प्रतिशतले गिरावट आएको आचार्यले बताए। यस वर्ष कक्षा ८ को परीक्षामा कुल ७ हजार ५८९ विद्यार्थी सहभागी भएका थिए। महानगरपालिकाभित्र ७४ सामुदायिक र ८४ निजी विद्यालय रहेका छन्।
केही विद्यालयको नतिजा अत्यन्त कमजोर देखिएको छ। भरतपुर–२९ स्थित आधारभूत विद्यालय चौकी र भरतपुर–१७ को आधारभूत विद्यालय लगौटाको नतिजा शून्य रहेको छ। साथै, आठ वटा सामुदायिक विद्यालयमा उत्तीर्ण प्रतिशत १५ मात्रै रहेको छ। १५ देखि २० प्रतिशत उत्तीर्ण हुने १५ विद्यालय, २० देखि ३० प्रतिशत हुने १७ विद्यालय रहेका छन्। ५० प्रतिशतभन्दा बढी नतिजा ल्याउने सामुदायिक विद्यालयको संख्या भने जम्मा ९ मात्रै छ।
आचार्यले सामुदायिक विद्यालयको नतिजालाई “लाजमर्दो” भन्दै कक्षा कोठामै हस्तक्षेप आवश्यक रहेको बताएका छन्। उनका अनुसार दरबन्दी थप्दा मात्र गुणस्तर सुधार नहुने स्पष्ट भएको छ।
महानगरपालिकाले संघीय बजेटबाहेक वार्षिक १० करोड ५० लाख रुपैयाँ शिक्षा क्षेत्रमा खर्च गर्दै आएको छ। यसमध्ये युवा स्वयंसेवक शिक्षकका लागि २ करोड ५० लाख र बालविकास सहजकर्ता, लेखापाल तथा कार्यालय सहयोगीका लागि थप २ करोड ५० लाख खर्च हुने गरेको छ। दिवा खाजाका लागि पनि प्रति विद्यार्थी ५ रुपैयाँ थप गरिएको छ। तर शिक्षकको क्षमता विकासमा अपेक्षित लगानी हुन नसकेको आचार्यको भनाइ छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रा.डा. सूर्यकान्त घिमिरेले सरकारी विद्यालयमा जनशक्ति र पूर्वाधार पर्याप्त भए पनि अपेक्षित नतिजा नआउनु चिन्ताजनक रहेको बताए। उनले शिक्षकलाई प्रेरित गर्ने वातावरण निर्माण र अध्यापन सीप विकासमा ध्यान दिनुपर्ने सुझाए।
त्यस्तै, शिक्षा क्षेत्रमा सक्रिय रमाकान्त सापकोटाले परम्परागत शिक्षण शैली परिवर्तन गरी प्रविधिमैत्री र आकर्षक पद्धति अपनाउनुपर्ने आवश्यकता औंल्याए। उनले विद्यार्थीको अध्ययनप्रतिको रुचि बढाउने उपाय खोज्नुपर्नेमा जोड दिए।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले पनि नतिजाले शिक्षा क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको स्वीकार गरेका छन्। उनले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबैको संयुक्त प्रयासबाट मात्र सुधार सम्भव हुने बताए। महानगरपालिकाले हालको नतिजाको समीक्षा गर्दै शिक्षा सुधारका लागि आवश्यक पहल गर्ने जनाएको छ।