काठमाडौँ - शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले विद्यालय तहमा प्रयोग हुने पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीमा देखिएका अनियमितता नियन्त्रण गर्न स्थानीय तहलाई कडा अनुगमन गर्न निर्देशन दिएको छ।
केन्द्रका निर्देशक डा. श्यामप्रसाद आचार्य द्वारा जारी परिपत्रमा शैक्षिक सत्र २०८३ का लागि नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम तथा पाठ्यक्रम विकास केन्द्र बाट अनुमोदित पाठ्यपुस्तक र सामग्री मात्र विद्यालयमा लागू गर्नुपर्ने स्पष्ट गरिएको छ।
केन्द्रले पाठ्यपुस्तकको पृष्ठ संख्या र मूल्य निर्धारण पनि मापदण्डअनुसार हुनुपर्ने जनाएको छ। पछिल्लो समय केही प्रकाशन गृहले कानुन उल्लंघन गर्दै बढी मूल्य तोक्ने, कम गुणस्तरको कागज प्रयोग गर्ने, स्वीकृति नलिएका तथा मूल्य नतोकेका पुस्तक बिक्री गर्ने जस्ता गतिविधि गरेको गुनासो आएको उल्लेख गरिएको छ।
यस्ता सामग्री केही विद्यालयले प्रयोग गर्न थालेको जानकारी समेत केन्द्रलाई प्राप्त भएको छ। साथै, कतिपय विद्यालयले आफैं पोसाक, पाठ्यपुस्तक र स्टेशनरी बिक्री वितरण गर्दा अभिभावक र विद्यार्थीमाथि अतिरिक्त आर्थिक भार परेको केन्द्रको निष्कर्ष छ।
केन्द्रले शिक्षा विकास तथा समन्वय एकाई र स्थानीय तहबीच समन्वय गरी अनियमिततामाथि निगरानी बढाउन र आवश्यक कारबाही गर्न निर्देशन दिएको छ।
साथै, गरिएको अनुगमन र कारबाहीबारे विस्तृत विवरण केन्द्रमा पठाउन पनि आग्रह गरिएको छ।