काठमाडौँ- काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न छनोट भएका विद्यार्थीहरूको मनोनयन सूची (म्याचिङ लिष्ट) सार्वजनिक गरेको छ। छात्रवृत्ति छनोट परीक्षामा प्राप्त नतिजा, विद्यार्थीले रोजेका विषय तथा शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा मनोनयन गरिएको हो।
महानगरपालिकाको परीक्षा समितिले जेठ २२ गते गरेको निर्णयअनुसार प्रकाशित सूचीमा परेका विद्यार्थीहरूले छात्रवृत्ति पोर्टलमार्फत आफ्नो मनोनयन पत्र डाउनलोड तथा प्रिन्ट गर्न सक्नेछन्। मनोनयन भएका विद्यार्थीले उक्त पत्रसहित जेठ २७ गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना हुनुपर्ने व्यवस्था गरिएको छ।
परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार निर्धारित समयभित्र भर्ना नभएमा सम्बन्धित विद्यार्थीको छात्रवृत्ति दाबी स्वतः खारेज हुनेछ। साथै, एकपटक मनोनयन भएको शिक्षण संस्था परिवर्तन गर्न नपाइने स्पष्ट गरिएको छ। प्रकाशित सूचीअनुसार कुल ३ हजार ७३५ विद्यार्थी छात्रवृत्तिका लागि सिफारिस भएका छन्। विषयगत रूपमा विज्ञानमा २ हजार २६६, व्यवस्थापनमा १ हजार ४०१, कानुनमा ५०, मानविकीमा १२ र शिक्षामा ६ जना विद्यार्थी मनोनयनमा परेका छन्।
सिफारिस भएका विद्यार्थीमध्ये विभिन्न आरक्षण तथा विशेष समूहअन्तर्गतका विद्यार्थी पनि समावेश छन्। सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका १ हजार ५४५ जना, महानगरभित्रका स्थायी बासिन्दा ४९२ जना, संस्थागत विद्यालयबाट एसइई उत्तीर्ण गरेका ४८१ जना, छात्रा कोटाबाट ४४० जना लगायत विभिन्न समुदाय, क्षेत्र र लक्षित समूहका विद्यार्थी मनोनयनमा परेका छन्। शिक्षा अधिकृत तथा परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार यस वर्ष महानगरभित्रका १४५ शिक्षण संस्थाका लागि कुल ४ हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरिएको छ।
तीमध्ये विज्ञान विषयमा २ हजार ३७१, व्यवस्थापनमा १ हजार ५४९, कानुनमा ७५, मानविकीमा ४९ र शिक्षामा ७ कोटा छुट्याइएको छ। छात्रवृत्ति छनोट परीक्षा जेठ १७ गते सञ्चालन गरिएको थियो। परीक्षाको प्रारम्भिक नतिजा जेठ १८ गते र अन्तिम नतिजा जेठ २१ गते सार्वजनिक गरिएको थियो।
पुनर्योग तथा विवरण सच्याउन दिइएको अवधिमा ३३१ वटा पुनर्योग आवेदन प्राप्त भएका थिए। परीक्षणका क्रममा एक जना परीक्षार्थीको ओएमआर उत्तरपुस्तिकामा प्राविधिक समस्या भेटिएपछि प्राप्ताङ्क संशोधन गरिएको थियो भने अन्य सबैको नतिजा यथावत रहेको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले पहिलो चरणमा मनोनयन भएका विद्यार्थीहरू भर्ना नभई रिक्त रहने सिटहरूका लागि दोस्रो चरणको मनोनयन सूची जेठ २८ गतेपछि सार्वजनिक गरिने जनाएको छ।
