काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षको बजेटलाई व्यवस्थित र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको भौतिक पूर्वाधारको वस्तुगत मूल्याङ्कन गरिने बताएका छन्।
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पोखरेलले आगामी आर्थिक वर्षको बजेटलाई तथ्यमा आधारित र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको भौतिक पूर्वाधारको विस्तृत मूल्याङ्कन गरिने बताएका हुन्। बैठकमा बोल्दै मन्त्री पोखरेलले विद्यालयहरूको वास्तविक अवस्था पहिचान गरी दीर्घकालीन गुरुयोजना तयार पारिने जानकारी दिए।
उनका अनुसार आगामी आर्थिक वर्षदेखि स्थानीय तहसँगको सहकार्यमा देशभरका विद्यालयहरूको भौतिक पूर्वाधार, जनशक्ति र शैक्षिक अवस्थाको समग्र अध्ययन अघि बढाइनेछ। यस अध्ययनमा विद्यालयका कक्षाकोठा, विद्यार्थी संख्या, खुला क्षेत्र, शौचालय, प्रयोगशाला, प्रतिविद्यार्थी उपलब्ध क्षेत्रफल, डेस्क–बेन्च, ह्वाइट बोर्ड, स्मार्ट बोर्ड लगायतका पूर्वाधारको विवरण संकलन गरिनेछ। साथै शिक्षक–विद्यार्थी अनुपातको पनि सूक्ष्म विश्लेषण गरिने मन्त्री पोखरेलले बताए।
उनले भने, ‘विद्यालयहरूको आवश्यकता र वर्तमान अवस्थालाई आधार मानेर राष्ट्रिय भवन संहिता, शिक्षा नीति तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार मापदण्ड तयार गरिनेछ। सोही आधारमा विद्यालय विकासको ‘मास्टर प्लान’ निर्माण गरी बजेटलाई प्रणालीगत रूपमा परिचालन गरिनेछ।’
उच्च शिक्षासम्बन्धी सुधार योजनाबारे बोल्दै मन्त्री पोखरेलले विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी व्यावसायिक र प्राज्ञिक वातावरण निर्माण गर्न खुला प्रतिस्पर्धामार्फत पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाइएको बताए।
मन्त्री पोखरेलले विश्वविद्यालय नेतृत्वमा दक्ष, अनुभवी र प्राज्ञिक व्यक्तित्व ल्याउने योजना कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा र संस्थागत सुधार मन्त्रालयको प्रमुख प्राथमिकता रहेको बताए।