काठमाडौँ- सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपालको शिक्षा क्षेत्रमा पहुँच र पूर्वाधार विस्तारमा उल्लेखनीय सुधार देखिए पनि माध्यमिक तथा उच्च शिक्षामा अझै चुनौती कायम रहेको औँल्याएको छ।
बुधबार प्रतिनिधिसभाकाे बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै आधारभूत तहमा विद्यार्थी भर्नादर उत्साहजनक भए पनि माध्यमिक तहमा भने ठूलो गिरावट देखिएको जानकारी दिए। सर्वेक्षणअनुसार आधारभूत तह (कक्षा १–८) को खुद भर्नादर ९७.८ प्रतिशत पुगेको छ। तर माध्यमिक तह (कक्षा ९–१२) मा यो दर घटेर ३५.४ प्रतिशतमा सीमित भएको छ।
हाल देशभर ३५ हजार ९५१ विद्यालय सञ्चालनमा रहेका छन्। तीमध्ये ७१.२७ प्रतिशत सामुदायिक र २४.८७ प्रतिशत संस्थागत विद्यालय रहेका छन्। विद्यार्थी संख्याका आधारमा पनि सामुदायिक विद्यालयकै हिस्सा बढी देखिएको छ। कुल विद्यार्थीमध्ये ६२.२ प्रतिशत सामुदायिक विद्यालयमा अध्ययनरत छन् भने ३७.८ प्रतिशत विद्यार्थी संस्थागत विद्यालयमा अध्ययन गरिरहेका छन्।

आर्थिक सर्वेक्षणले चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रको कुल मूल्य अभिवृद्धि १.५० प्रतिशत मात्र रहने अनुमान गरेको छ, जुन अघिल्लो वर्षको २.३६ प्रतिशतभन्दा कम हो। यद्यपि, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा शिक्षा क्षेत्रको योगदान ९.२२ प्रतिशत रहने अनुमान गरिएको छ। साथै संघ, प्रदेश र स्थानीय तहको एकीकृत खर्चमध्ये ११ प्रतिशत शिक्षा क्षेत्रमा खर्च भएको उल्लेख छ। शैक्षिक उपलब्धितर्फ माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। कक्षा १२ मा नन–ग्रेडेड हुने विद्यार्थीको संख्या घट्दो क्रममा देखिएको छ। चालु वर्ष यो अनुपात ३८.८३ प्रतिशतमा झरेको छ भने अघिल्लो वर्ष ४७.८५ प्रतिशत रहेको थियो।
१५ देखि २४ वर्ष उमेर समूहको युवा साक्षरता दर ९४.२ प्रतिशत पुगेको सर्वेक्षणमा उल्लेख छ। उच्च शिक्षातर्फ विद्यार्थी संख्या १०.९ प्रतिशतले वृद्धि भई ७ लाख ४५ हजार ७७० पुगेको छ। तर प्राविधिक तथा कृषि शिक्षाप्रति आकर्षण भने न्यून देखिएको छ। कृषि संकायमा केवल ०.१५ प्रतिशत विद्यार्थी अध्ययनरत छन् भने व्यवस्थापन संकायमा ५०.५ प्रतिशत विद्यार्थी केन्द्रित रहेका छन्। वैदेशिक अध्ययनतर्फ जाने विद्यार्थीको संख्या भने केही घटेको छ। चालु आर्थिक वर्षको फागुनसम्म ८५ हजार ३०६ विद्यार्थीले मात्र वैदेशिक अध्ययन अनुमति (एनओसी) लिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम हो।
शिक्षक–विद्यार्थी अनुपातमा सामुदायिक विद्यालयमा प्रतिशिक्षक औसत २४ विद्यार्थी रहेका छन् भने संस्थागत विद्यालयमा यो संख्या २९ पुगेको छ। शिक्षक संरचनामा लैङ्गिक असन्तुलन पनि देखिएको छ। आधारभूत तहमा महिला शिक्षकको संख्या ४९.१ प्रतिशत भए पनि माध्यमिक तहमा यो दर घटेर २२.९ प्रतिशतमा सीमित छ।
पूर्वाधार विकासतर्फ ८५.४ प्रतिशत सामुदायिक विद्यालयमा इन्टरनेट सुविधा पुगेको छ भने २९.६ प्रतिशत विद्यालयमा आईटी ल्याब सञ्चालनमा छन्। साथै आधारभूत तहका करिब २७ लाख विद्यार्थी दिवा खाजा कार्यक्रमबाट लाभान्वित भएका छन्।