काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आफ्नो कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन ६ वटा विषयगत उपसमिति गठन गरेको छ।
समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले उपसमितिहरूको कार्यविधि तथा आचारसंहिता समेत अनुमोदन गरेको हो।समितिकी सभापति डा. ओजस्वी शेरचनका अनुसार प्रतिनिधिसभा नियमावलीअनुसार गठन गरिएका सबै उपसमितिहरू समितिकै मातहतमा रहनेछन्। उपसमितिहरूको संयोजन तथा समन्वयको जिम्मेवारी पनि सभापतिमार्फत सञ्चालन हुने व्यवस्था गरिएको छ।
बैठकले परामर्श तथा समन्वय, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन, शिक्षासम्बन्धी अध्ययन, विज्ञान–प्रविधि तथा नवप्रवद्र्धन अध्ययन, सूचना तथा सञ्चार अध्ययन तथा खेलकुद अध्ययन गरी ६ वटा उपसमिति गठन गरेको हो ।
शिक्षासम्बन्धी अध्ययन उपसमितिमा गणेश पौडेल, गुरुप्रसाद बराल, जगतप्रसाद जोशी, राधिका रम्तेल र रमेशकुमार मल्ल सदस्य रहेका छन्।त्यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमितिमा कामिनी कुमारी, डा. चन्द्रमोहन यादव, डा. तोसिमा कार्की, प्रभा ढकाल, रिङ्गला यादव र डा. लेखजंग थापा रहेका छन्।
विज्ञान, प्रविधि तथा नवप्रवद्र्धन अध्ययन उपसमितिमा कुशुम महर्जन, झविलाल डुम्रे, पुकार बम, डा. प्रमिला कुमारी गच्छदार र महावीर पुन सदस्य छन् भने सूचना तथा सञ्चार अध्ययन उपसमितिमा खुश्बु सरकार श्रेष्ठ, शम्भुकुमार यादव, रविन महतो, विष्णुबहादुर खड्का र हरिप्रसाद भुसाल रहेका छन्।
खेलकुद अध्ययन उपसमितिमा अच्युतम लामिछाने, चन्दनकुमार सिंह, भीमकुमारी बुढामगर, राजन गौतम र सीता थपलिया सदस्य छन्। साथै परामर्श तथा समन्वय उपसमितिमा डा. लेखजंग थापा, पुकार बम, प्रभा ढकाल, सीता थपलिया, रिङ्गला यादव, रमेशकुमार मल्ल, राधिका रम्तेल र महावीर पुन रहेका छन्।