काठमाडौँ- काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न नयाँ कार्यक्रम अघि सारेको छ। महानगरपालिकाको १९ औँ नगरसभामा कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सबैका लागि गुणस्तरीय तथा समावेशी शिक्षा सुनिश्चित गर्ने लक्ष्यसहित विशेष विद्यालय स्थापना गर्ने घोषणा गरिएको हो।
नीति तथा कार्यक्रमअनुसार अटिजम, डाउन सिन्ड्रोमलगायत विभिन्न प्रकारका अपाङ्गता भएका तथा जोखिममा रहेका बालबालिकाका लागि विशेष विद्यालय सञ्चालन गरिनेछ। साथै ज्येष्ठ नागरिक र गृहिणीलाई लक्षित गरी विद्यालय तथा वैकल्पिक शिक्षाका कार्यक्रम सञ्चालन गर्दै अन्तरपुस्ता सिकाइलाई प्रोत्साहन गरिने जनाइएको छ।
महानगरले विद्यालय शिक्षाको दीर्घकालीन विकासका लागि समग्र शिक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने नीति लिएको छ। विद्यालय तथा सामुदायिक अध्ययन केन्द्रहरूमा स्वास्थ्यकर्मी सहितको प्राथमिक स्वास्थ्य सेवा र पोषण कार्यक्रम सञ्चालन गरिनेछ भने दिवा शिशु स्याहार केन्द्र स्थापना गर्ने योजना पनि समेटिएको छ।
शिक्षालाई अनुसन्धानमुखी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सूचना प्रविधिको अधिकतम प्रयोग गरिने तथा विद्यार्थीहरूको सिर्जनशीलता र सीप विकासका लागि ‘क्रियटिभ फ्राइडे’ कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। त्यस्तै, विद्यालय-विद्यालय साझेदारी कार्यक्रममार्फत असल अभ्यास र अनुभव आदानप्रदानलाई प्रोत्साहन गरिनेछ। भाषा, संस्कृति, सम्पदा, पर्यटन तथा प्राविधिक शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले “स्वनिगः विश्वविद्यालय” स्थापना गर्न नेपाल सरकारसँग समन्वय गरिने नीति पनि अघि सारिएको छ।
खेलकुद क्षेत्रको विकासका लागि खेलाडीहरूको प्रतिभा पहिचान, सम्मान तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिनुका साथै विभिन्न प्रतियोगिता आयोजना गरी खेलकुदलाई थप व्यवसायिक र प्रतिस्पर्धी बनाउने लक्ष्य राखिएको छ।
यसैगरी विद्यालयको भौतिक पूर्वाधार सुधारअन्तर्गत कक्षाकोठाको तापीय आराम, प्राकृतिक भेन्टिलेसन तथा कार्बन डाइअक्साइडको सान्द्रता सम्बन्धी अध्ययन गरी वैज्ञानिक मापदण्ड तय गरेर लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।