काठमाडौँ- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ भव्य रूपमा सम्पन्न भएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा. ओजश्वी शेरचनको प्रमुख आतिथ्यमा ललितपुरमा आयोजित कार्यक्रममा देशभरका उत्कृष्ट शैक्षिक संस्था तथा शिक्षा क्षेत्रका विशिष्ट योगदानकर्ताहरूलाई सम्मान गरिएको हो।

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टको प्रायोजनमा सम्पन्न कार्यक्रममा अवार्ड वितरणसँगै शिक्षा क्षेत्रका समसामयिक विषयमा दुईवटा महत्त्वपूर्ण प्यानल छलफल पनि आयोजना गरिएको थियो।
पहिलो सत्र ‘शिक्षामा निजी क्षेत्रको लगानी’ विषयमा केन्द्रित थियो। सत्रमा राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष तथा काठमाडौं विश्वविद्यालयसँग आबद्ध प्राज्ञिक व्यक्तित्व महाश्रम शर्मा र पूर्व स्वास्थ्य राज्यमन्त्री तथा हिसान र प्याब्सनका पूर्वअध्यक्ष उमेश श्रेष्ठले की–नोट वक्ताका रूपमा धारणा राखेका थिए। उनीहरूले शिक्षामा निजी क्षेत्रको योगदानलाई राज्यले उचित रूपमा मूल्याङ्कन गर्नुपर्ने र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
अधिवक्ता तथा इन्जिनियर उमेश रुपाखेतीको सहजीकरणमा भएको प्यानल छलफलमा शिक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटा, हिसानका अध्यक्ष युवराज शर्मा, नबिल बैकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका डाइरेक्टर डा. आशिष तिवारी सहभागी थिए। वक्ताहरूले शिक्षामा लगानीको सुरक्षा, बैंकिङ क्षेत्रको भूमिका र सरकारी नीतिबीचको समन्वयबारे धारणा व्यक्त गरेका थिए।
दोस्रो सत्र ‘के नेपाललाई एजुकेसन हब बनाउन सकिन्छ?’ विषयमा केन्द्रित थियो। इक्यानका निवर्तमान अध्यक्ष शेषराज भट्टराईले सहजीकरण गरेको छलफलमा डा. ओजश्वी शेरचन, प्याब्सनका पूर्वअध्यक्ष डिके ढुंगाना तथा गेट कलेजका संस्थापक अध्यक्ष खेम लकाई सहभागी थिए। छलफलमा नेपाललाई उच्च शिक्षा तथा प्राविधिक शिक्षाको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको निष्कर्ष निकालिएको थियो।
कार्यक्रममा शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका दुई व्यक्तित्वलाई ‘शिक्षा क्षेत्रका लागि प्रोज्ज्वल नक्षत्र २०८३’ उपाधिबाट सम्मानित गरिएको थियो। उक्त सम्मान सुदूरपश्चिम विश्वविद्यालयका प्रथम संस्थापक उपकुलपति प्रा.डा. जयराज अवस्थी तथा प्रसादी एकेडेमीका प्रमुख विक्रम राईलाई प्रदान गरिएको हो।
त्यसैगरी, शिक्षा क्षेत्रको विकास र संस्थागत सुदृढीकरणमा योगदान पुर्याएका प्रा.डा. भोला थापा, डा. ऋषी तिवारी तथा राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्याललाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८३’ प्रदान गरिएको थियो।
अवार्ड कार्यक्रमअन्तर्गत राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक नतिजा र योगदानका आधारमा उत्कृष्ट ठहर गरेका विद्यालयहरूलाई पनि सम्मान गरिएको थियो। संस्थागत विद्यालयतर्फ केएमसी सेकेन्डरी स्कुल र ट्रिनिटी इन्टरनेसनल स्कुल सर्वोत्कृष्ट घोषित भए भने सामुदायिक विद्यालयतर्फ विश्व निकेतन सेकेन्डरी स्कुल उत्कृष्ट विद्यालयका रूपमा सम्मानित भएको छ।


