काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४० दिनभित्र सार्वजनिक हुनु सरकारको सुशासनप्रतिको प्रतिबद्धता र शिक्षा क्षेत्रको सुधारको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले यस वर्ष नतिजा प्रकाशनको प्रक्रियालाई तीव्र र व्यवस्थित बनाइएकाले विगतको तुलनामा निकै कम समयमा नतिजा सार्वजनिक गर्न सम्भव भएको बताए।
मन्त्री पोखरेलले अघिल्ला वर्षहरूमा कक्षा १२ को नतिजा सार्वजनिक गर्न तीन महिनाभन्दा बढी समय लाग्ने गरेको थियो तर यस पटक प्रशासनिक प्रक्रिया सरलीकरण र प्रभावकारी व्यवस्थापनका कारण ४० दिनमै नतिजा सार्वजनिक गर्न सफल भएको उल्लेख गरे।
मन्त्री पोखरेलले नतिजा प्रकाशनमा हुने ढिलाइका कारण विश्वविद्यालय भर्ना, पठनपाठन तथा परीक्षाको कार्यतालिका प्रभावित हुने गरेको स्मरण गराउँदै यस वर्षको सुधारले समग्र शैक्षिक क्यालेन्डरलाई समयमै सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयहरूले पनि अब समयमै भर्ना प्रक्रिया सञ्चालन गरी शैक्षिक सत्र नियमित बनाउन तयारी गरिरहेको जानकारी दिए।
नतिजा छिटो सार्वजनिक भएको विषय मात्र होइन, सुशासनको एक सशक्त उदाहरण पनि यो हो। अनावश्यक प्रशासनिक जटिलता हटाउँदा छोटो समयमै प्रभावकारी परिणाम दिन सकिन्छ भन्ने यसले पुष्टि गरेको छ, मन्त्री पोखरेलले भने।
परीक्षामा सहभागी सबै विद्यार्थीलाई बधाई दिँदै उनले प्राप्त नतिजालाई जीवनको अन्तिम मूल्याङ्कनका रूपमा नलिन आग्रह गरे। अपेक्षाअनुसार नतिजा प्राप्त गर्न नसकेका विद्यार्थीलाई निराश नहुन र आगामी अवसरका लागि तयारी जारी राख्न उनले सुझाव दिए।
मन्त्री पोखरेलले पूरक परीक्षाको तयारीमा जुट्न विद्यार्थीलाई प्रेरित गर्दै उच्च शिक्षाका लागि नेपालका विश्वविद्यालयहरूमा पर्याप्त अवसर र सम्भावना रहेको समेत बताए।