काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना सेवा, सर्त तथा सुविधासम्बन्धी मागहरू सम्बोधन गराउन दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। परिषद्को राष्ट्रिय समितिको बैठकले विद्यालय कर्मचारीका जायज माग पूरा गराउन चरणबद्ध आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो। परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीद्वारा जारी संयुक्त विज्ञप्तिमा पहिलो चरणको आन्दोलन सफलतापूर्वक सम्पन्न भएपछि दोस्रो चरणका कार्यक्रम तय गरिएको उल्लेख गरिएको छ।
घोषित कार्यक्रमअनुसार असार ८ गते देशभरका ७५३ वटै स्थानीय तहमा भौतिक रूपमा ज्ञापनपत्र बुझाइनेछ। त्यसैगरी असार १० गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ध्यानाकर्षण पत्र पेश गरिनेछ भने असार ११ र १२ गते प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूसँग भेटघाट तथा छलफल गरिने कार्यक्रम रहेको छ।
परिषद्ले असार १५ गते शिक्षामन्त्री, असार १६ गते अर्थमन्त्री तथा असार १७ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने जनाएको छ। साथै, असार १८ गते आन्दोलन परिचालन समितिको बैठक बस्ने र असार १९ देखि २५ गतेसम्म पूर्व शिक्षामन्त्रीहरूसँग अन्तरक्रिया, छलफल तथा बहस कार्यक्रम सञ्चालन गरिनेछ।
यस्तै, असार २९, ३० र ३१ गते विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयअगाडि धर्ना कार्यक्रम आयोजना गरिने परिषद्ले जनाएको छ। साउन १ गतेसम्म आन्दोलनका सम्पूर्ण गतिविधिबारे नेपाल शिक्षक महासंघलाई जानकारी गराइने पनि विज्ञप्तिमा उल्लेख छ।
परिषद्ले विद्यालय कर्मचारीका सेवा, सर्त र सुविधासम्बन्धी मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै आन्दोलनलाई प्रभावकारी र सफल बनाउन सम्पूर्ण विद्यालय कर्मचारी, शिक्षक तथा सरोकारवालालाई साथ र सहयोगका लागि अपिल गरेको छ।