काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बुधबार आएको बाढीबाट भएको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै अहिले सरकारको पहिलो प्राथमिकता उद्धार र जीवनरक्षा रहेको बताएका छन्।
मन्त्री पोखरेलले बाढी प्रभावित स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूसँग टेलिफोनमार्फत प्रत्यक्ष सम्पर्क गरी पछिल्लो अवस्थाबारे जानकारी लिएको बताए। उनले स्थानीय तहलाई तत्काल उद्धार तथा राहतमा पूर्णरूपमा केन्द्रित हुन आग्रह गरेका छन्।
प्रभावित क्षेत्रमा आवश्यक हेलिकोप्टर, राहत सामग्री तथा अन्य सहयोगका लागि सरकार स्थानीय तहको साथमा रहेको उनको भनाइ छ। बाढीबाट विद्यालय, विद्यार्थी तथा शैक्षिक सामग्रीमा भएको क्षतिको व्यवस्थापन शिक्षा मन्त्रालयले गर्ने प्रतिबद्धता पनि मन्त्री पोखरेलले व्यक्त गरेका छन्।
उद्धार कार्य सम्पन्न भएपछि विद्यालयमा भएको क्षतिको विवरण संकलन गरी विद्यार्थीका पुस्तक, कापी तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइने उनले बताए।
त्यस्तै, क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माण गरी बालबालिकालाई सकेसम्म छिटो सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्था मिलाइने मन्त्री पोखरेलले जानकारी दिए।
सम्पर्क हुन नसकेका प्रभावित पालिकाका अध्यक्षहरूसँग समेत पुनः सम्पर्क गरी आवश्यक सहयोग उपलब्ध गराउने बताउँदै उनले कठिन परिस्थितिमा सरकार प्रभावित समुदायसँगै रहेको विश्वास दिलाए।
‘अहिले तपाईंहरू उद्धारमा लाग्नुहोस्, बाँकी कुरा हामी मिलेर सम्हालौँला,’ मन्त्री पोखरेलले भने।