काठमाडौं- रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी प्राकृतिक विपद्पछि उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै सूचना तथा सञ्चार मन्त्रालयले संवेदनशील तस्बिर, भिडिओ तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ।
मन्त्रालयले विपद्का समयमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट प्रवाह हुने सूचनाले उद्धार, राहत र जनमानसमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार र तथ्यपरक सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो।
मन्त्रालयले विपद्बवाट भएको क्षति, उद्धार तथा राहतसम्बन्धी समाचार प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिजस्ता आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन अनुरोध गरेको छ।
त्यस्तै, अपुष्ट, कपोलकल्पित तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट सिर्जित भ्रामक सामग्री र अफवाह सम्प्रेषण नगर्न पनि मन्त्रालयले सचेत गराएको छ।
मन्त्रालयले विपद्का हृदयविदारक घटना, मृतक तथा पीडितसँग सम्बन्धित तस्बिर, भिडिओ वा विवरण सामाजिक सञ्जालमा पोस्ट तथा रिपोस्ट नगर्न आग्रह गरेको छ। यस्ता सामग्रीले पीडित तथा मृतकका परिवारजनमा थप पीडा र मानसिक असर पार्न सक्ने मन्त्रालयको भनाइ छ।
विपद्को समयमा भयावह तथा समाजलाई विचलित वा विभाजित पार्ने सामग्री प्रकाशन, प्रसारण, अपलोड, शेयर तथा रिपोस्ट नगरी उद्धार र राहत कार्यमा सहयोग पुग्ने गरी सही, तथ्यपरक र जिम्मेवार सूचना प्रवाह गर्न मन्त्रालयले सम्पूर्ण सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई विशेष अपिल गरेको छ।
