काठमाडौँ- शिक्षा मन्त्रालयले प्राकृतिक विपद्का कारण भदौ १३ गतेदेखि सञ्चालन हुने विश्वविद्यालय तहका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ। प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भइरहेकाले वर्तमान विषम परिस्थितिलाई ध्यानमा राख्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
मन्त्रालयले स्थगित भएका परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न विश्वविद्यालयहरूलाई निर्देशन दिएको छ। साथै, भदौ १२ गते निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि पनि उपयुक्त समयमा परीक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ। मन्त्रालयले विश्वविद्यालय तथा सम्बन्धित शैक्षिक संस्थालाई अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रमसमेत स्थगित गर्न निर्देशन दिएको छ।विपद्बवाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क तथा समन्वय गरी आवश्यक सहयोग र सहजीकरण गर्न पनि मन्त्रालयले भनेको छ।
त्यस्तै, प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न र विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राख्दै विद्यार्थीको शैक्षिक निरन्तरता कायम गर्न आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ।
मन्त्रालयका मुख्य निर्देशनहरू,
१. भदौ १३ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गर्ने र संशोधित परीक्षा तालिका उपयुक्त समयमा सार्वजनिक गर्ने।
२. अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्ने।
३. विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग निरन्तर सम्पर्क, समन्वय गरी आवश्यक सहयोग तथा सहजीकरण गर्ने।
४. प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्ने।
५. विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राख्दै विद्यार्थीको शैक्षिक निरन्तरता र सहजीकरणका लागि आवश्यक व्यवस्था गर्ने।