काठमाडौँ - रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि विभिन्न जिल्लामा मृत्यु हुनेको संख्या ४८९ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार दिउँसोसम्म बाढी प्रभावित विभिन्न जिल्लाबाट ४८९ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा १३, धादिङमा ४०, तनहुँमा २९, नुवाकोटमा ३७, गोरखामा ४४, चितवनमा १८६, नवलपरासी पूर्वमा ११२ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ५४५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट ३ जना रहेका छन्। बाढीमा परी घाइते भएकाहरूलाई विभिन्न स्थानबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।
प्रहरीका अनुसार काठमाडौंका विभिन्न अस्पतालमा अहिले ८७ जना घाइतेको उपचार भइरहेको छ। बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारीसहित ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन्।
प्रहरीका अनुसार हालसम्म नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बलका १३, टिमुरे भन्सार कार्यालयका १५ तथा टिमुरे अध्यागमन कार्यालयका चार कर्मचारी सम्पर्कविहीन छन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।