काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न विश्वविद्यालयले आर्थिक सहयोग गर्ने भएका छन्। पछिल्ला सार्वजनिक विवरणअनुसार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्ना पदाधिकारी, शिक्षक तथा कर्मचारीको तलबबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मात्रै ९ करोड ४८ लाख २ हजार १ सय ९० रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। त्रिविका रजिस्ट्रार प्राडा महानन्द चालिसेका अनुसार उपकुलपति, रेक्टर, रजिस्ट्रार तथा सेवा आयोगका अध्यक्ष र सदस्यको एक महिनाको तलब कट्टा गरिनेछ।
त्यस्तै, प्राध्यापक तथा प्रशासक, सहप्राध्यापक र सोसरहका शिक्षक–कर्मचारीको १० दिन, उपप्राध्यापक तथा उपप्रशासक र शाखा अधिकृतको सात दिन, मुख्य कार्यालय सहायक तथा सोसरहका कर्मचारीको पाँच दिन र श्रेणीविहीन कर्मचारीको दुई दिनको तलब कट्टा गरिनेछ। उक्त रकम भदौ महिनाको तलबबाट कट्टा गरी उद्धार कोषमा दाखिला गरिने त्रिविले जनाएको छ।
सुदूरपश्चिम विश्वविद्यालयले करिब ८८ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। भदौ १३ गते बसेको कार्यकारी परिषद्को बैठकले उपकुलपतिको एक महिनाको तलब तथा विभिन्न तहका शिक्षक र कर्मचारीको दुईदेखि १० दिनसम्मको तलब कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो।
पोखरा विश्वविद्यालयले पनि बाढी तथा प्राकृतिक विपद्बाट प्रभावितका लागि करिब ७७ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। विश्वविद्यालयका अनुसार उपकुलपतिको एक महिनाको तलब, विशिष्ट तथा प्रथम श्रेणीका शिक्षक–कर्मचारीको १० दिन र दोस्रो श्रेणीका प्राध्यापक तथा कर्मचारीको सात दिनको तलब कट्टा गरिनेछ। यसमा यसअघि भूकम्पका बेला संकलन गरिएको तर खातासम्बन्धी समस्याका कारण कोषमा पठाउन नसकिएको करिब ७ लाख रुपैयाँसमेत समावेश गरिएको परीक्षा नियन्त्रक राजु पाण्डेले बताएका छन्।
यसैगरी, कृषि तथा वन विज्ञान विश्वविद्यालयले पनि पदाधिकारी, शिक्षक तथा कर्मचारीको भदौ महिनाको तलबबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। निर्णयअनुसार उपकुलपति, रजिस्ट्रार, डीन तथा परीक्षा नियन्त्रकको एक महिनाको तलब, निर्देशक तथा सहायक डीनको आधा महिनाको तलब कट्टा गरिनेछ। प्राध्यापक तथा सहप्राध्यापक तहका शिक्षक–कर्मचारीको १० दिन, उपप्राध्यापक तथा शाखा अधिकृत र प्रशिक्षकको सात दिन, मुख्य कार्यालय सहायक तथा कार्यालय सहायकको पाँच दिन र श्रेणीविहीन कर्मचारीको दुई दिन बराबरको रकम कट्टा गरिने विश्वविद्यालयले जनाएको छ।
भदौ १० गते रसुवाको रसुवागढी तथा भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि विश्वविद्यालयहरूले राहत तथा पुनर्स्थापनामा सहयोग गर्ने निर्णय गरेका हुन्।