काठमाडौँ - रसुवाको भोटेकोशीसहित रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीबाट प्रभावित विद्यार्थी तथा विद्यालयको तथ्यांकमा सरकारी निकाय र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) बीच ठूलो अन्तर देखिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले तीन जिल्लामा ६ हजार ५ सय ५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। तर युनिसेफले भने कम्तीमा १७ हजार बालबालिका प्रभावित भएको जनाएको छ। दुवै निकायले आफ्नो विवरण प्रारम्भिक भएकाले थप अध्ययनपछि तथ्यांक परिवर्तन हुन सक्ने बताएका छन्।
बाढी आएको झन्डै एक साता बितिसक्दा पनि विद्यालय, शिक्षक र विद्यार्थीमा भएको क्षतिको एकीकृत विवरण सार्वजनिक हुनसकेको छैन। विद्यार्थी प्रभावित भएको संख्यामा मात्रै होइन, विद्यालय भवनमा पुगेको क्षति र पूर्ण रूपमा ध्वस्त भएका विद्यालयको संख्यामा समेत दुई निकायका तथ्यांक फरक छन्।
मन्त्रालयका अनुसार रसुवा, नुवाकोट र धादिङमा गरी ६ हजार ५ सय ५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित भएको छ। रसुवामा चार विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् भने तीन विद्यालयमा आंशिक क्षति पुगेको छ। ती विद्यालयमा एक हजार ३ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत थिए। त्यस्तै, नुवाकोटमा तीन विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने थप तीन विद्यालयमा आंशिक क्षति पुगेको छ। प्रभावित विद्यालयमा करिब तीन हजार विद्यार्थी अध्ययनरत थिए।
धादिङमा एउटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने थप सात विद्यालयमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। ती आठ विद्यालयमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत थिए।मन्त्रालयको प्रारम्भिक विवरणअनुसार तीन जिल्लामा आठ विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन्।
तर युनिसेफले भने बाढीबाट १८ विद्यालय पूर्ण रूपमा ध्वस्त भएको र थप २० विद्यालयमा क्षति पुगेको जनाएको छ। विद्यार्थी तथा बालबालिका प्रभावित भएको संख्यामा पनि ठूलो अन्तर छ। युनिसेफका अनुसार बाढीबाट कम्तीमा १७ हजार बालबालिका प्रभावित भएका छन्। तीमध्ये अनुमानित १० हजार विद्यालय जाने उमेरका बालबालिकालाई तत्काल शिक्षाको निरन्तरता सुनिश्चित गर्न सहयोग आवश्यक रहेको युनिसेफले जनाएको छ। युनिसेफका अनुसार बाढीले बालबालिकाको घर र विद्यालय मात्रै होइन, परिवार तथा प्रियजनसमेत गुमाएका छन्।
बाढीबाट बचेका बालबालिका अहिले रोग, कुपोषण, हिंसा र शोषणको थप जोखिममा रहेको युनिसेफले जनाएको छ। उनीहरूका लागि अस्थायी सिकाइ केन्द्र, शैक्षिक सामग्री तथा बालबालिका र शिक्षक दुवैलाई मनोसामाजिक सहयोग आवश्यक रहेको युनिसेफको भनाइ छ।
बाढीबाट विद्यालय भवनमा मात्रै क्षति पुगेको छैन। कतिपय विद्यालयको भवन पूर्ण रूपमा नबगे पनि कक्षाकोठाभित्र रहेका पुस्तक, प्रयोगशाला सामग्री, कम्प्युटर, अभिलेख तथा प्रशासनिक सामग्री नष्ट भएको मन्त्रालयले जनाएको छ। कतिपय बालबालिका जीवित रहे पनि परिवारका सदस्य गुमाएका वा सम्पर्कविहीन भएका छन्। केहीको घर र विद्यालय दुवै बाढीले बगाएको अवस्था छ।
यस्तो अवस्थामा बालबालिकालाई तत्काल कक्षाकोठामा फर्काउनु मात्र प्राथमिकता नभई उनीहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक अवस्थालाई समेत ध्यान दिनुपर्ने मन्त्रालयको निष्कर्ष छ।